तिनाउ गाउँपालिका–२, दोभानको बन्चरे पहाडमा सडक भासिने समस्या पाँच वर्षदेखिको हो । तर यसको स्थायी समाधान नखोजिँदा दर्जन बढी बस्तीका बासिन्दाले वर्षमा ६ महिना सास्ती खेप्नु परेको छ ।
What you should know
पाल्पा — तिनाउ गाउँपालिका–२, हरियाली गाउँका छविलाल केसी दैनिक दोभान र बुटवल आउजाउ गर्छन् । तर उनलाई बन्चरे पहाड सम्झिँदा भने दिक्क लाग्छ । पानी पर्नासाथ हिलाम्मे हुन्छ । भासिएर मोटरसाइकल र जिप संचालन गर्नसमेत सकिँदैन । ‘सधैं हिँड्नुपर्ने सडकमा वर्षमा ६ महिना पनि राम्रोसँग हिँड्न पाइँदैन,’ उनले भने, ‘सडक भासिन सुरु गरेको वर्षौं भयो तर यसको समाधान खोजिएको छैन ।’
तिनाउ गाउँपालिका–२, हापुरकी माया थापा सातामा दुईपटक बुटवल आउजाउ गर्छिन् । तर उनलाई सवारी साधनमा जानुभन्दा झोलुङ्गे पुल तरेर खुर्सानेतिर जान मन लाग्छ । किनभने जिपमा जाँदा बन्चरे पहाडमा अलमलिनुपर्छ । ‘सानो पानी पर्दासमेत हिलाम्मे हुन्छ,’ उनले भनिन्, ‘जिप नै अघि बढ्न सक्दैन । सडक भासिएर सधैं हैरानी खेप्नुपर्ने हुन्छ ।’ यसपटक हिउँदमा परेको वर्षाले सडक करिब दुई सातादेखि बन्द छ ।
तिनाउ गाउँपालिका–२, दोभानको बन्चरे पहाडमा सडक भासिने समस्या पाँच वर्षदेखिको हो । तर यसको स्थायी समाधान नखोजिँदा दर्जन बढी बस्तीका बासिन्दाले वर्षमा ६ महिना सास्ती खेप्नु परेको छ । पछिल्लो समय स्थानीयले दोभान खोला (कचल) को बन्चरेघाटमा पक्की पुल राख्नुपर्ने माग अघि बढाएका छन् । बन्चरे पहाडमा सडक भासिएको वर्षौं भए पनि यसतर्फ स्थानीय तिनाउ गाउँपालिकाको ध्यान पुगेको छैन ।
यहाँबाट चालु आर्थिक वर्षमा माटो बिक्री गरेको छ । चुरे क्षेत्र भएकाले भासिन रोकिएको छैन । सानो पानी पर्दासमेत यहाँ सडक भासिने र हिलाम्मे हुने समस्या रहेको तिनाउ गाउँपालिका–२, Σयालङ्लाका शेरजंग थापाले भने, ‘तर यसको स्थायी समाधान खोज्न जरुरी छ ।’ सडकको जमुने र झ्याङलाबीचको बन्चरे पहाडमा धेरै वर्षदेखि सडक भासिने समस्या रहेको उनले बताए । ठाउँठाउँमा पहिरो खस्ने समस्या छ । बन्चरे पहाडमा झण्डै सय मिटर क्षेत्रमा सडक भासिएको छ ।
सडक भासिएपछि यस क्षेत्रमा बस, जिप सेवा बन्द हुन्छ । ‘जेठमा पानी पर्ने हो भने असोजसम्म यो सडकमा सवारी साधन चल्न सक्दैनन्,’ उनले भने, ‘तल्लो भागमा दोभान खोलाले कटान गर्दै लगेकाले सडक भासिन रोकिएको छैन । त्यसका लागि स्थायी समाधान गर्न पहल नहुँदा बर्सेनि दुःख पाउनु परेको छ ।’ उनका अनुसार बन्चरेघाट दोभान खोलामा पक्की पुल राख्ने हो भने यो पहिरो छलेर सवारी साधन बस्तीमा लैजान सकिन्छ ।
‘दर्जन बढी गाउँबस्तीलाई सेवा दिने यो सडकको स्थायी समाधान पक्की पुल नै हो,’ झ्याङलाका भक्तबहादुर थापाले भने, ‘त्यसका लागि सबै क्षेत्रबाट पहल हुन जरुरी छ ।’ हरेक वर्ष पहिरो खस्ने र सडक भासिने भएपछि झ्याङ्गला, बगाहा, पाल्टाङ्गे, खुल्खुले, भुताहा, हरियालीगाउँ, हापुर, महापुर र हरियाली गाउँ, बेओरे, तोरीबारी लगायतका बासिन्दाले घण्टौं पैदल हिँड्नुपर्ने बाध्यता रहेको उनले बताए ।
यहाँ परेको बजेटबाट समेत बन्चरे पहाडमा काम नगरीकन अन्यत्र काम गरेकामा समेत स्थानीयको गुनासो छ । सवारी साधन संचालन नहुँदा एक घण्टादेखि तीन घण्टासम्म पैदल हिँड्नपर्ने उनले बताए । स्थानीयका अनुसार कतिपय स्थानमा पहिरो खसेर र सडक भासिएर पैदलसमेत हिँड्न मिल्ने अवस्था छैन । गाउँबाट झोलुङ्गे पुल तरेर खोलापारिको गाउँमा पुगेपछि मात्र सानाठूला सवारी साधनमा वडा तथा गाउँपालिका कार्यालय जान सकिन्छ । यहाँका बासिन्दालको बजार बुटवल हो ।
दैनिक उत्पादित सामान लैजाने, खाद्यान्न लगायत बोकाएर गाउँ लग्नुपर्ने हुन्छ । यो सडक सिद्धार्थ राजमार्गको दोभानदेखि झ्याङला–हरियाली गाउँ हुँदै महेन्द्र राजमार्गको तामनगर जोड्छ । हरियाली गाउँ हुँदै तामनगर ट्रयाक खुले पनि स्तरोन्नति नहुँदा समस्या छ । यो सडक हुँदै कचल भएर अर्घाखाँची जान सकिन्छ ।
