पाल्पाका विभिन्न गाउँपालिकामा चैते धानका पातमा खैरो धर्सो र सुक्ने समस्या देखिएपछि किसान उत्पादन घट्ने डरमा परेका छन्।
What you should know
पाल्पा — चैते धानमा गाँज हाल्ने बेला पातको छेउबाट खैरो लामो धर्सो आउने र टुप्पोबाट सुक्दै जाने समस्याले पाल्पाका किसान चिन्तित बनेका छन् ।
पूर्वखोला, रम्भा, निस्दी गाउँपालिकाका साथै रामपुर नगरपालिका क्षेत्रमा लगाएको चैते धानमा रोग फैलिएपछि किसान उत्पादन घट्ने त्रासमा छन् । पूर्वखोला गाउँपालिका–३ रिङ्नेरहमा करिब पाँच सय रोपनीभन्दा बढी क्षेत्रमा लगाइएको धान बालीमा रोग देखिएको किसानको गुनासो छ ।
पूर्वखोला किनारका खेतको धानमा गाँज हाल्ने बेला पातको छेउबाट खैरो लामो धर्सो आउने र माथि टुप्पोबाट सुक्दै गएर रातो देखिएको पूर्वखोला गाउँपालिका–३ रिङ्नेरहकी किसान थमीसरा पुनले बताइन् । उनले भनिन्, ‘मंसिरमा पाक्ने असारमा लगाएको धानमा यस्तो देखिए पनि यसपटक चैते धानमै यो सस्मया देखिँदा चिन्ता लागको छ ।’
पूर्वखोला आसपासका धानमा एक सातदेखि रोग फैलिन सुरु गरेको हो । फाट्टफुट्ट देखिएको रोग अहिले सबैतिर फैलिएको छ । सुरुमा हल्का रातो भएको र पछि बिस्तारै बोटभर फैलिएको पूर्वखोला–३ रिङ्नेरहकी सुकमाया बरालले बताइन् । ‘रोग पछिल्ला दिनमा धानका सबै बोटमा फैलिएको छ,’ उनले भनिन्, ‘प्राविधिकले पनि यस विषयमा जानकारी गराएका छैनन् ।’
स्थानीयले यसअघि मंसिरमा पाक्ने धानमा घरेलु औषधि उपचार गरेका थिए । जंगलमा पाइने खिलुवाको घाँसको झोल बनाएर राख्ने गरेको किसान बरालले बताइन् । खेतमा धान हेर्न आएका प्राविधिकले ब्याक्टेरिया लागेको भनेको उनले बताइन् ।
पूर्वखोला गाउँपालिकाको कृषि शाखाले प्रभावित क्षेत्रमा पुगेर नमुना संकलन गरी घरेलु उपचार गर्न सल्लाह दिएको छ । कृषि शाखा प्रमुख चाँदनी चौधरीका अनुसार गाईको गहुँतलाई एक/चार भागमा मिलाएर राख्न सल्लाह दिएको छ । कृषि प्राविधिक शिरबहादुर बुढाले किसानको खेतमा पुगेर रोगबारे अध्ययन गरेका हुन् । पालिकासँग औषधि नभएकाले किसानलाई सिफारिस गरेको उनले बताएका छन् ।
रोग लाग्दा औषधि उपचार नपाउने, सिँचाई कुलो अभाव, पछिल्लो समय पानीका मुल सुक्दै जानु, कामदार अभाव, युवा जनशक्तिको पलायन, स्थानीय तह, कृषि ज्ञान केन्द्रबाट किसानलाई चैते धान लगाउन प्रोत्साहन नहुँदा हरेक वर्ष चैते धान लगाउनेको संख्या घट्दै गएको किसानको गुनासो छ । १० वर्ष अघिसम्म १ हजार ५ सय हेक्टरमा चैते धान लगाउने गर्थे । स्थानीय चैते २, चैते ३ लगायतका जातका धान लगाउने गरिन्छ ।
पूर्वखोला क्षेत्र, कालीगण्डकीको बोसी क्षेत्र, निस्दी, अरुणखोलालगायतका स्थानमा चैते धान लगाउने गरिन्छ। असारमा रोपेको धानभन्दा चैतमा रोपेको धानबाट बढी उत्पादन हुने र चामल मिठो हुने गर्छ ।
