बालापुर मोड अब ‘हनुमान चोक’

बालापुर मोडमा हनुमानको मूर्ति स्थापना गरिएसँगै उक्त चाेकको नाम पनि अब हनुमान चोक बनाइएको छ ।

वैशाख ३०, २०८३

मनोज पौडेल

Balapur mode now 'Hanuman Chowk'

कपिलवस्तु — पूर्व–पश्चिम राजमार्गस्थित चन्द्रौटामा निर्माण गरिएको विशाल हनुमान मूर्तिको अनावरण गरिएको छ । बालापुर मोडमा निर्माण गरिएको उक्त मूर्तिको धार्मिक विधिपूर्वक प्राण प्रतिष्ठा गरेर लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले बुधबार अनावरण गरेका हुन् ।

शिवराज नगरपालिका–५ स्थित उक्त स्थानमा ३० फिट अग्लो हनुमान मूर्ति निर्माण गरिएको हो । मूर्तिको अधिकांश भाग फाइबर प्रयोग गरी तयार पारिएको छ । 

आव ०८१/८२ मा लुम्बिनी प्रदेश पर्यटन डिभिजन कार्यालय भैरहवाबाट १५ लाख रुपैयाँको लागतमा बेस निर्माण सम्पन्न गरिएको थियो । चालु आवमा भ्याटबाहेक ३५ लाख २३ हजार रुपैयाँ लागतमा देउराली निर्माण सेवाले मूर्ति निर्माण गरेको हो ।

मन्त्री थापाले सुन्दर सहर निर्माणसँगै चन्द्रौटालाई धार्मिक तथा पर्यटकीय हिसाबले महत्त्वपूर्ण गन्तव्य बनाउने उद्देश्यका साथ मूर्ति स्थापना गरिएको बताए । उनले धार्मिक पर्यटन प्रवर्द्धनले स्थानीय आर्थिक गतिविधिमा समेत टेवा पुग्ने बताए । 

शिवराज नगरपालिकाका प्रमुख अजय थापाले धार्मिक तथा पर्यटकीय स्थलको विकासका लागि प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको मूर्तिले शिवराज नगरपालिकाले अघि सारेको रामायण सर्किट निर्माणको योजनालाई सहयोग पुग्ने बताए । यसैबीच, बालापुर मोडमा हनुमानको मूर्ति स्थापना गरिएसँगै उक्त चाेकको नाम पनि हनुमान चोक बनाइएको छ । आगामी वर्ष उक्त क्षेत्रको थप सौन्दर्यीकरण गरेर पर्यटकीय गन्तब्य स्थल बनाइने पर्यटन डिभिजन कार्यालय, रूपन्देहीका इन्जिनियर रेशौराज आचार्यले बताए ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully