ब्रतबन्ध कार्यक्रममा विवादपछि भएको हत्या घटनामा संलग्न आरोपित ६ जनालाई प्रहरीले विभिन्न स्थानबाट नियन्त्रणमा लिएको जनाएको छ।
नेपालगन्ज — बाँकेको खजुरा गाउँपालिका–६ का २२ वर्षीय विशाल चन्द ठकुरीको हत्या आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका–१२, बेलासपुरमा भएको युवकको हत्या गरेको आरोपमा प्रहरीले कैलालीको लम्कीचुहा नगरपालिका–१ बस्ने १९ वर्षीय दीपेन्द्रराज गिरी, सोही स्थान निवासी २० वर्षीय बिबीएस कुँवर, सोही स्थानका १८ वर्षीय सुशील खत्री, सोही ठाउँका २० वर्षीय खकेन्द्र देवकोटा, कालीकोटको पचालझरना–६ बस्ने १८ वर्षीय सन्तोष सन्ज्याल र सुर्खेतका २० वर्षीय रुपेश थापा रहेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ।
सो घटनामा संलग्नमध्ये चार जनालाई बर्दिया ठाकुरबाबा नगरपालिकाबाट र दुई जनालाई नेपालगन्जबाट नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए । उनका अनुसार घटनास्थालबाट प्रहरीले एक थान चक्कु, सुपप्र ०१–०१४ प १२५६ नं को एनएस २०० मोटरसाइकल, सिसाका बोटल बरामद गरेको छ ।
प्रनाउ पातलीका अनुसार नेपालगन्ज–१२ स्थित प्रितम अधिकारीको घरमा ब्रतबन्धको कार्यक्रम रहेका बेला घरमा बस्ने ठाउँ नभएपछि छिमेकीको घरमा गएर रमाइलो गर्ने क्रममा दीपेन्द्रराज गिरी र विशालचन्द्र ठकुरीबीच विवाद भएको थियो । विवादले उग्ररुप लिएपछि २२ वर्षीय विशाल चन्द ठकुरीको हत्या भएको थियो ।
उनका अनुसार चक्कुलगायतका धारिलो हतियार ठकुरीमाथि प्रहार गरिएको र कोठाबाट भाग्न खोज्दासमेत लखेट्दै प्रहार गरिएको थियो । गम्भीर रुपमा घाइते भएका ठकुरीको स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
