अस्पतालको शय्यामै रुबी खानको अनसन जारी

फागुन २१ को निर्वाचनलगत्तै निर्मला कुर्मीको मुद्दा अदालत लैजाने सहमति भए पनि त्यो कुरामै सीमित रहँदा पीडितले वर्षौंसम्म न्याय पाउन नसकेपछि बाध्य भएर अनसन बस्नुपरेको उनको भनाइ छ ।

वैशाख २९, २०८३

रुपा गहतराज

Ruby Khan's hunger strike continues in hospital bed

नेपालगन्ज — १४ दिनदेखि जिल्ला प्रहरी कार्यालय बाँकेको परिसरमा अनसनरत अधिकारकर्मी रुबि खान स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि अहिले नेपालगन्ज मेडिकल कलेजमा भर्ना छिन् । तर उनको अनसन अस्पतालको शय्यामा पनि रोकिएको छैन ।  

निर्मला कुर्मी र गुडिया कहारको हत्या मुद्दा तत्काल अदालत लैजानुपर्ने, उपचार नगरी मृत्यु भएका नाबालक दीपेश चमारको मुद्दामा थप ३ जनामाथि पूरक जाहेरी लिई निष्पक्ष अनुसन्धान गर्नुपर्ने, उनको उपचार नगरी रेफर गर्ने चिकित्सकलाई कारबाही गर्नुपर्ने लगायत ९ बुँदे माग राख्दै खान यही वैशाख १५ देखि अनिश्चितकालीन अनसनमा छिन् । 

निर्मला कुर्मीको हत्या प्रकरणमा संलग्नहरूलाई कारबाही गर्न आफूसहितका अधिकारकर्मीले पटक–पटक आवाज उठाउँदै आए पनि सरकारले बेवास्ता गर्दै आएकाले छैटौं पटक अनसनसहित आन्दोलन सुरू गरिएको खानले बताइन् ।

‘प्रहरी प्रशासनले पटक–पटक हाम्रो आवाज दबाउने काम गरेको छ,’ खानले भनिन्, ‘वर्तमान सरकारबाट धेरै आशा र विश्वास छ, तै पनि हाम्रो तर्फबाट छिटो कारबाहीका लागि संघर्ष भने जारी रहनेछ ।’ कुर्मीको हत्यामा संलग्नलाई कारबाही गर्न सरकारसँग पाँचौं पटकसम्म सहमति भए पनि कार्यान्वयन नभएको र उनको मुद्दा अदालतसम्म पुर्‍याउने मनसाय नदेखिएको उनको आरोप छ । 

फागुन २१ को निर्वाचनलगत्तै निर्मला कुर्मीको मुद्दा अदालत लैजाने सहमति भए पनि त्यो कुरामै सीमित रहँदा पीडितले वर्षौंसम्म न्याय पाउन नसकेपछि बाध्य भएर अनसन बस्नुपरेको उनको भनाइ छ ।

२०६२ मा निर्मलाका श्रीमान् महलु कुर्मीको मृत्यु भयो । श्रीमान् गुमाएको चार वर्षपछि २०६६ मंसिरमा १० दिनको अन्तरालमा निर्मलाले आफ्ना दुई छोरा रामसागर र सुरेश गुमाइन्।

दुई छोरा र श्रीमान् गुमाएर शोकाकुल भएकी निर्मलालाई बन्धक बनाएर कुटपिट गर्न थालियो । निर्मलाको नागरिकता, श्रीमान् र छोराको मृत्युदर्ताको प्रमाणपत्र, घरजग्गाका कागजात खोसिए । यी सब भइसकेपछि २०७५ मा निर्मलालाई बेपत्ता पारियो । सीमापारि भारतमा निर्मलाको शंकास्पद मृत्यु भएको भनिए पनि उनको अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन ।

प्रशस्त जग्गा–जमिन भएकी निर्मलाका श्रीमान्‌को २०६२ सालमा मृत्यु भएपछि उनको जमिन हडप्न दुवै छोरा र उनकोसमेत हत्या गरिएको रूबी खान लगायत अधिकारकर्मीहरूको दाबी छ । यस घटनामा नेपाली कांग्रेसका नेता बादशाह कुर्मी संलग्न रहेको आरोप लागेको छ । 

२०६४ मा संविधानसभा सदस्यसमेत रहेका बादशाह निर्मलाका छिमेकी हुन् । कुर्मी अहिले पनि लुम्बिनी प्रदेशसभा सदस्य छन् । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र समेतको आठदलीय गठबन्धनबाट उम्मेदवार बनेका कुर्मीको सांसद् पदको शपथ रोक्न माग गरिएको भए पनि उनलाई मन्त्री समेत बनाइएको थियो । 

बादशाहले २०६६ माघ २० गते गाउँ पुगेर जिल्ला प्रशासन कार्यालयबाट फर्किँदै गरेकी निर्मलालाई सार्वजनिक स्थलमै दुर्व्यवहार गरेका थिए । अपहरण शैलीमा घिसार्दै घरमा लगेर बन्धक बनाइएकी निर्मलाको माघ २१ गते प्रहरीले उद्धार गरेको थियो । बादशाहमाथि भने कुनै कारबाही गरिएको थिएन । उक्त घटनाविरूद्ध महिला अधिकारकर्मीहरूले विरोध र प्रदर्शन गरेपछि बादशाहले माफी मागेर निर्मलाका कागजात फिर्ता गरिदिएका थिए ।

तर त्यसपछि पनि आफूमाथि डर, धाक, धम्की दिन र ज्यादती गर्न नछाडिएको निर्मलाले बताएकी थिइन् । त्यसै क्रममा २०७५ माघ २५ गते राति अचानक निर्मला बेपत्ता भएकी थिइन् । त्यसको दुई वर्षपछि निर्मलाको मृत्यु भएको खबर फैलिएको थियो ।

अधिकारकर्मीहरूले भने निर्मला बेपत्ता नभई बादशाहको समूहले नै अपहरण गरी हत्या गरेको दाबी गर्दै उनलाई कारबाहीको मागसहित निरन्तर आन्दोलन गर्दै आएका छन् । निर्मला कुर्मीले न्याय पाउनुपर्ने, कांग्रेस नेता बादशाहमाथि छानबिन हुनुपर्ने भन्दै अधिकारकर्मीहरू यस अगाडि पनि पटक–पटक धर्नामा बसिसकेका छन् ।

२६ असोज २०७८ गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा छानबिन समिति गठन भएको थियो । समितिले बादशाह कुर्मीमाथि छानबिन गर्न निर्देशन दिएको थियो । त्यसपछि फागुन २०७९ मा प्रहरी वरिष्ठ उपरिक्षक दिनेशकुमार आचार्य नेतृत्वको विशेष अनुसन्धान टोलीले अनुसन्धान गरेको थियो। अनुसन्धान भइसक्दा पनि मुद्दा अदालत नपुर्‍याएकामा अधिकारकर्मी आक्रोशित छन् ।

महिला अधिकार मञ्चले २०७७ चैत २० गते बादशाह कुर्मीले नै निर्मलालाई अपहरण गरी भारत लगेर हत्या गरेको दाबीसहित बाँके प्रहरीमा उजुरी दिएको थियो ।

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully