सदरमुकाम कावासोतीको थाना चोकबाट सुरु भएको विरोध र्याली थकाली चोक हुँदै जिल्ला प्रशासन कार्यालयअगाडि पुगेर प्रदर्शन र धर्नामा परिणत भएको हो ।
नवलपुर — भूमि अधिकार आन्दोलन नेपालले मंगलबार जिल्ला प्रशासन कार्यालय पूर्वी नवलपरासी घेराउ गर्दै विरोध प्रदर्शन गरेको छ ।
सदरमुकाम कावासोतीको थाना चोकबाट सुरु भएको विरोध र्याली थकाली चोक हुँदै जिल्ला प्रशासन कार्यालयअगाडि पुगेर प्रदर्शन र धर्नामा परिणत भएको हो ।
वन ऐन संशोधन गर, जमिन कसको जोत्नेको, घर कस्को पोत्नेको, डोजर आतंक बन्द गर, भूमि र आवासको अधिकार सुनिश्चित गर, उठिबास बन्द गर लगायतका नारा लगाउँदै विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा बोल्दै भूमि अधिकार नेपालका महासचिव हेमराज दाहालले वर्षौंदेखि जोतभोग गर्दै आएको भूमि र घरमा डोजर चलाउन लागेको भन्दै सरकारविरुद्ध देशैभरि आन्दोलनमा उत्रिने चेतावनी दिए ।
प्रदर्शनकारीले वर्तमान सरकारले वर्षौंदेखि भूमिहीन र सुकुमवासीले आश्रय लिइरहेको स्थानमा डोजर चलाउने तथा घरबारविहीन बनाउने काम गरिरहेको भन्दै सरकारविरुद्ध पनि नाराबाजी गरेका थिए । जिल्लामा दैनिकजसो भूमिहीन र सुकुमवासीले प्रदशर्न गर्दै आएका छन् ।
