लुम्बिनी प्रदेशमा २ सय जनाले ल्याए ४ जीपीए

रोल्पा र रुकुम पश्चिम शून्य, रूपन्देहीबाट सबैभन्दा धेरै ८२ जनाको ४ जीपीए ।

वैशाख २९, २०८३

घनश्याम गौतम

200 students in Lumbini Province scored 4 GPA

What you should know

बुटवल — लुम्बिनी प्रदेशमा गत वर्षको तुलनामा यस वर्षको एसईई नतिजा कमजोर देखिएको छ । गत वर्ष ६२ दशमलव ६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकामा यस वर्ष ६१ दशमलव ५७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

लुम्बिनी प्रदेशको शिक्षा तथा सामाजिक विकास निर्देशनालयका वरिष्ठ तथ्यांक अधिकृत एवं सूचना अधिकारी डोरबहादुर बस्नेतका अनुसार यस वर्ष लुम्बिनी प्रदेशबाट ७१ हजार ५ सय २८ विद्यार्थी परीक्षामा सहभागी भएकामा ४४ हजार ४१ जना उत्तीर्ण भएका छन् । २७ हजार ४ सय ६७ विद्यार्थी अनुत्तीर्ण भएको उनले बताए । अधिकांश जिल्लामा सामुदायिक विद्यालयको नतिजामा सुधार भएको छ । 

निर्देशनालयका अनुसार यस वर्षको एसईईमा लुम्बिनी प्रदेशबाट २ सय जनाले ४ जीपीए ल्याएका छन् । त्यसमा सबैभन्दा धेरै रूपन्देहीबाट ८२ जना छन् । त्यसपछि दाङ र बाँकेबाट २६/२६ जना, पाल्पा र पश्चिम नवलपरासीबाट १६/१६ जनाले ४ जीपीए ल्याएका छन् । कपिलवस्तुका ११, बर्दियाका १०, अर्घाखाँचीका ७, गुल्मीका ६ र प्यूठानका २ विद्यार्थीको पनि ४ जीपीए आएको छ ।

‘पूर्वी रुकुम र रोल्पामा कुनै पनि विद्यार्थीले ४ जीपीए ल्याउन सकेका छैनन्,’ उनले भने, ‘समग्रमा प्रारम्भिक नतिजा विश्लेषणमा सामुदायिक विद्यालयहरूको नतिजा सुधार भएको देखिएको छ ।’ रूपन्देहीको कालिका मानव ज्ञान विद्यालयबाट ६ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् । प्रारम्भिक नतिजामा सामुदायिक तर्फ त्यो नै अहिलेसम्मको बढी देखिएको उनले बताए ।

रूपन्देहीका अन्य सामुदायिक विद्यालय कान्ति, शान्ति नमुना, नवीन औद्योगिक कदरबहादुर रिता माविको पनि नतिजा कमजोर देखिएको छ । कान्तिबाट ४ जना र नवीन र शान्तिबाट १/१ जनाले मात्र ४ जीपीए ल्याएका छन् । रूपन्देहीकै नाम चलेका निजी विद्यालयको पनि यस वर्षको नतिजा कमजोर देखिएको छ । रूपन्देहीबाट अक्सफोर्ड माविबाट ११ जनाले ४ जीपीए ल्याएका छन् । दीप बोर्डिङबाट ७ र प्यारामाउन्टबाट ६ जनाले ४ जीपीए ल्याउन सकेका छन् । नाम चलेको न्यु होराइजनबाट यस वर्ष ४ जनाले मात्र ४ जीपीए ल्याउन सफल भएका छन् । निजी र सामुदायिक दुवै विद्यालयमा शून्य नतिजा ल्याउने विद्यालयको संख्या प्राप्त नभएको र सबै स्थानीय तहमा माग गरिएको बस्नेतले बताए ।

लुम्बिनी प्रदेशमा ३ दशमलव ६० देखि ४ जीपीएसम्म ल्याउनेको संख्या ६ हजार ४ सय ३६ रहेको छ । त्यस्तै ३ दशमलव २० देखि ३ दशमलव ६० अर्थात् ए ल्याउनेको संख्या ११ हजार ८ सय ९९ रहेको छ । १४ हजार ९ सय ८५ जनाले २ दशमलव ८० देखि ३ दशमलव २० जीपीए ल्याएका छन् । लुम्बिनी प्रदेशमा २०८० सालको एसईई परीक्षामा ३८ दशमलव ६५ र २०८१ मा ६२ दशमलव ०६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । यस वर्ष ६१ दशमलव ५७ प्रतिशत उत्तीर्ण भएका छन् ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully