चिरिच्याट्ट बन्दै धम्बोजी चोकदेखि नन्दनी मिलसम्मको सडक

नन्दनी मिलदेखि गुलरियासम्म अधिकांश भाग चार लेनमा विस्तार भइसके पनि नेपालगन्जको धम्बोझी चोकदेखि नन्दनी मिलसम्म करिब दुई किलोमिटर सडक दुई लेनमै सीमित हुँदा साँघुरो र अस्तव्यस्त अवस्थामा थियो ।

वैशाख २८, २०८३

रुपा गहतराज

The road from Dhamboji Chowk to Nandani Mill is being constructed at Chirichyatt.

What you should know

नेपालगन्ज — नेपालगन्जको व्यस्त र मुख्य सडक खण्डका रूपमा रहेको धम्बोजी चोकदेखि नन्दनी मिलसम्मको सडक विस्तार गर्ने योजनाले पुनः गति लिन थालेको छ । हुलाकी राजमार्गअन्तर्गत नेपालगन्ज–गुलरिया खण्डको उक्त सडक चार लेनमा विस्तार गरिने भएको हो । 

अव्यवस्थित संरचना र जथाभावी पार्किङका कारण सो खण्ड लामो समयदेखि समस्या बनेको थियो। अब भने उक्त दुई किलोमिटर सडकले स्वरूप परिवर्तन गर्ने भएको छ।

हुलाकी राजमार्गअन्तर्गत पर्ने १ हजार ९ सय मिटर लामो सडक खण्डलाई चार लेनमा स्तरोन्नति गर्न हुलाकी सडक योजना कार्यालय नेपालगन्जले आफ्नो सक्रियता बढाएको हो। 

हाल नन्दनी मिलदेखि गुलरियासम्म अधिकांश भाग चार लेनमा विस्तार भइसके पनि नेपालगन्जको धम्बोझी चोकदेखि नन्दनी मिलसम्म करिब दुई किलोमिटर सडक दुई लेनमै सीमित हुँदा साँघुरो र अस्तव्यस्त अवस्थामा थियो ।

सडक विस्तारका लागि हुलाकी सडक योजना कार्यालयले नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख र सम्बन्धित क्षेत्रका वडाध्यक्षसँग चारबुँदे लिखित समझदारी गरिसकेको छ। सहमतिअनुसार सडकको केन्द्रबिन्दुबाट दायाँ र बायाँ १५–१५ मिटर गरी जम्मा ३० मिटरको ‘राइट अफ वे’ खाली गराइने छ। 

यसका लागि कार्यालयले गोरखापत्रमा सूचना प्रकाशन गरिसकेको छ भने स्थानीयलाई सडकसीमा खाली गर्न अनुरोध गर्दै दैनिक रूपमा बिहान र बेलुका माइकिङ गर्ने कार्य भइरहेको छ। प्राविधिक तथ्याङ्क अनुसार यो सडक खण्ड विस्तार गर्दा १ सय ५९ वटा घर–टहरा सडकसीमाभित्र पर्ने देखिएका छन्। यस पटक नेपाल राष्ट्र बैङ्कको कम्पाउन्ड वालजस्ता क्षेत्र पनि सडक विस्तारको दायरामा परेका छन्। 

हुलाकी सडक योजना प्रमुख इन्जिनियर लीलाबहादुर भण्डारीले विगतमा १० मिटर मात्र भत्काएर सडक विस्तार गर्दा पूर्ण मापदण्ड कायम हुन नसकेको र अहिले पुनः थप पाँच मिटर भत्काउनुपर्ने अवस्था आएको बताए । उनका अनुसार सडकसीमा अतिक्रमण रोक्नु र सुरक्षित राख्नु सरकारी निकाय र स्थानीय नागरिक दुवैको दायित्व हो।

‘पहिला स्थानीयले १० मिटर मात्रै भत्काए, हामीले पनि १० मिटर मात्रै भन्यौं । पहिलो पटक सडक चौडा गर्दा सडकको केन्द्रविन्दुदेखि दायाँ–बायाँ १५ मिटर भत्काइदिएको भए दोहोरो खर्च हुने थिएन,’ उनले भने, ‘अब अहिले फेरि थप पाँच मिटर भत्काउनुपर्ने भयो। त्यसकारण सडकसीमा अतिक्रमण हुन नदिनु र अतिक्रमण नगर्नु दुवै पक्षका लागि हितकर हो।’ 

नेपालगन्ज–१ का वडाध्यक्ष प्रमोज रिजालले धम्बोझीदेखि नन्दनी मिलसम्मको सडक साँघुरो हुनुका साथै ठाउँ–ठाउँमा खाल्डाखुल्डी भएकाले दुर्घटनाको जोखिम रहेको भन्दै अब जोखिम कम हुने बताए ।

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully