नबिल बैंकको नि:शुल्क जलन उपचार शिविरमा २५ जनाको सफल अप्रेसन

नबिल बैँक लिमिटेड र सुष्मा कोइराला मेमोरियल ट्रष्ट अस्पतालको समन्वयमा भएको शिविरमा दाङसहित छिमेकी जिल्लाका बिरामीले सेवा लिएको प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख सह–निर्देशक डा. सुरेश रसाइलीले बताए ।

वैशाख २८, २०८३

दुर्गालाल केसी

25 people undergo successful surgeries at Nabil Bank's free burn treatment camp

दाङ — घोराहीस्थि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको नि:शुल्क जलन उपचार शिविरमा २५ जनाको सफल अप्रेसन भएको छ । शिविरमा ८५ जनाले उपचार तथा परामर्श सेवा लिएका छ्न ।

नबिल बैँक लिमिटेड र सुष्मा कोइराला मेमोरियल ट्रष्ट अस्पतालको समन्वयमा भएको शिविरमा दाङसहित छिमेकी जिल्लाका बिरामीले सेवा लिएको प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख सह–निर्देशक डा. सुरेश रसाइलीले बताए ।

वैशाख २५ गतेदेखि सरु शिविर सोमबार सम्पन भएको छ । शिविरबाट १२ जना बिरामीलाई थप उपचारका लागि रिफर गरिएको छ । ‘जलनका कारण जीवन रोकिँदैन, उपचारले जीवनमा परिवर्तन ल्याउन सक्छ’ भन्ने मूल नाराका साथ भएको शिविरमा विशेषज्ञ चिकित्सकको संलग्नतामा जलन उपचारका साथै नि:शुल्क अप्रेसनसमेत भएको हो । शिविरमा सर्जन डा. ईश्वर लोहनी, डा. राजु भण्डारीसहितको स्वास्थ्य टोलीले उपचार गरेको थियो ।

नबिल बैंकले व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न स्वास्थ्य संस्थासँग सहकार्य गरी दाङसहित चारवटा यस्ता शिविर सम्पन्न गरेको छ । यसअघि धनगढी, सुर्खेत र वीरगञ्जमा शिविर सम्पन्न भएका थिए । आर्थिक अवस्था कमजोर भएर उचित उपचार गर्न नपाएका बिरामीलाई केन्द्रित गरी नि:शुल्क जलन उपचार शिविर सञ्चालन गरिएको नबिल बैंकले जानकारी दिएको छ ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully