तानसेन नगरपालिका–५ धरमपानीस्थित कुटु कृषि फार्मले उत्पादन गरेको गड्यौला मल तानसेनका एग्रोभेटले लैजाने गर्छन् ।
What you should know
पाल्पा — रामपुर नगरपालिका–४ देवीस्थानका दिलु मगरले ६ वर्षदेखि गड्यौलाबाट तयार भएको भर्मी कम्पोष्ट मल प्रयोग गर्दै आएका छन् । सुरुमा बिरुवा उत्पादनका लागि गड्यौला मल प्रयोग गरेका उनले पछिल्ला वर्ष भने तरकारी उत्पादनमा प्रयोग गर्दै आएका छन् । ‘गड्यौला मल प्रयोग गरेपछि बिरुवा तथा तरकारी उत्पादन बढेको छ,’ उनले भने, ‘चार/पाँच किलो फल्ने गोलभेडाको बोटले गड्यौला मल राख्दा ७/८ किलोसम्म फल दिएको छ ।’ विरुवा तथा तरकारीमा ढुसी वा रोग लाग्ने समस्या पनि कम भएको उनले बताए ।
तानसेन नगरपालिका–७ काजीपौवाका दिलबहादुर थापाले गड्यौला मल राखेर बिरुवा उत्पादन गर्दा राम्रो भएको बताए । तीन/चार वर्षदेखि गड्यौला मल प्रयोग गर्दै आएका उनले बिरुवा उत्पादन गर्न धेरै राम्रो भएको बताए । ‘तरकारी फलाउन भन्दा बिरुवा उमार्नका लागि यो मल धेरै राम्रो लाग्यो,’ उनले भने, ‘बिरुवा राम्रो हुने र अन्यत्र लगेर सारेको बिरुवामा पछि रोग कम लागेको पाए । त्यसैले फाइदाजनक लागेको छ ।’
सिधैं गोठेमल प्रयोग गर्नु भन्दा गड्यौला मल प्रयोग गर्दा बिरुवा राम्रो हुने उनले बताए । यो मल प्रशोधित भएकाले बिरुवा हुर्कनलाई सहयोग पुगेको छ । किसानहरुका अनुसार तानसेन नगरपालिका–५ धरमपानीस्थित कुटु कृषि फार्मले गड्यौला मल उत्पादन सुरु गरेको छ ।
फर्मले उत्पादन गरेको मललाई तानसेनका एग्रोभेटले लैजाने गर्छन् । कतिपय किसान फर्ममै पुगेर खरिद गर्न थालेका छन् । रामपुर र रिब्दीकोटका किसान फर्ममै पुगेर खरिद गर्ने गरेका छन् । माटोमा भएको जीवित माइक्रो अर्गानिज्मलाई बढाउन गड्यौला मलले सहयोग पुग्ने कृषिविज्ञ सागर कार्कीले बताए । उनका अनुसार बिरुवाले पाउने १६ वटा तत्वसमेत पाइने भएकाले गड्यौला मलको आकर्षण बढेको हो । पछिल्लो समयमा रासायनिक मलको प्रयोगले माटोको उत्पादन क्षमतामा हस आएको छ । उर्वराशक्ति फर्काउन व्यवसायिक गड्यौला खेती गरेर मल तयार गरेको फर्मकी संचालक भगवती पौडेल घिमिरेले बताइन् ।
घिमिरेले गड्यौला हुर्काउन १५ बढी पिट निर्माण गरेकी छन् । पिटबाहेक अलग्गै पनि मल उत्पादन गरिएको छ। ६ वर्षअघि कपिलवस्तुबाट १ हजार ५ सय प्रतिकेजीमा २० किलो ल्याएर गड्यौला पाल्न सुरु गरेको उनले बताइन् । श्रीमान् सुविनको सहयोगमा उनले गड्यौला हुर्काउने र त्यसबाट मल तयार गर्ने गरेको उनले बताइन्। अहिले डेढ दर्जन बढी पिटमा गड्यौला मल तयार भएको छ । केही महिनाभित्र थप पिटमा गड्यौलामार्फत् मल तयार पार्ने उनको योजना छ । ‘अहिले प्याकेजिङ गरेर बजारमा पठाएको छौं,’ उनले भनिन्, ‘पछि यसको दानावाला तयार गर्ने योजना बनाएकी छु ।’
थोरै लगानीबाट सुरु गरेको व्यवसायले अहिले राम्रो आम्दानी भएको छ । २० केजी गड्यौलाबाट सुरु गरे पनि अहिले करी ३०० केजी गड्यौला पुगेको छ । मासिक ३० क्विन्टल अर्गानिक भर्मी कम्पोष्ट मल तयार हुने गरेको छ । कतिपय किसान तथा संस्था गड्यौला र मल खरिद गर्न घरमै पुग्छन् । घरमै गाईभैंसीपालन गरेको र सोही मललाई गड्यौला मल तयार पारिएको उनले बताइन् ।
एक महिनामा एउटा पिटमा १ सय ५० किलोसम्म गड्यौला मल उत्पादन गर्न सकिन्छ । घरवरपर फालिएका स्याउला, गाईभैंसीको गोबर, जुटको बोरा, फालिएका कागज, सडेगलेका तरकारीबाटसमेत गड्यौला मल तयार पार्न सकिन्छ । तर अहिलेसम्म गाईभैंसीको गोबरबाट मात्र गड्यौला मल तयार भएको घिमिरेले बताइन् । गड्यौलाको लागि छुट्टै आहार र रेखदेख समेत आवश्यकता नपरेको उनले बताइन् । अहिले ५० किलोसम्म मासिक गड्यौला नै बिक्री गर्न सक्ने बताइन् ।
रासायनिक मल र गाईभैंसीको गोबर सिधैं लगेर राखेको मल भन्दा गड्यौलाको मल तीन गुणा मलिलो हुने कृषि विज्ञ कार्कीले बताए । धान, मकै, तरकारी, करेसाबारीमा राख्नलाई सहयोग पुग्ने उनले बताए । यसले माटोमा भएको जीवित माइक्रोअर्गानिज्मलाई बढाएर उत्पादन र उत्पादकत्वमा वृद्धि ल्याउनेछ ।
विगतमा कृषि ज्ञान केन्द्रले बर्सेनि ५ लाख बढी गड्यौला मल उत्पादनका लागि खर्च गरे पनि पछिल्लो वर्ष भने यसमा बजेट विनियोजन गरेको छैन । कृषि ज्ञान केन्द्रका अनुसार पछिल्लो वर्ष गड्यौला मलका लागि बजेट छैन । गाड्यौला प्रांगारिक पदार्थहरु खुवाएर त्यसबाट दिशाको रुपमा निकालिएको सडेगलेको कम्पोष्ट मलको समिश्रण गड्यौला मल हो । यसलाई व्यवस्थित पालन गरेमा यसबाट राम्रो प्राङ्गारिक मल तयार गर्न सकिने विज्ञ कार्कीले बताए । ‘यो मलको बजार अभाव छैन,’ उनले भने, ‘एक पटक प्रयोग गर्ने किसानले अर्कोपटक त्यही मल खोज्छन् ।’
गड्यौलाले खाएको खाना पाचन नलीमा धेरैबेर रहँदैन । खाएको ५–१० भाग मात्र शरीर उपयोगको लागि प्रयोग हुन्छ । अरू बाँकी भाग शरीर बाहिर निष्कासन गर्दछ । खाएर पचाएर दिशाको रूपमा फालेको दानेदार मललाई गड्यौलाबाट तयार पारिएको कम्पोष्ट मल वा गाड्यौली मल भनिने उनले बताए ।
गड्यौला पाल्न भुइँ ढलान गरेर प्लास्टर गरेको जमिनमा सहज हुन्छ । हल्का भिरालो बनाएर होंचो भागतिर १–२ इन्चको पाइप राख्ने हो भने अझ सहज हुने उनले बताए । माथिबाट घामपानी बचाउन खर, पराल वा प्लाष्टिकले छायो भने उत्तम हुने उनले बताए । सकेसम्म छानाबाट तातो नछिर्ने खालको अथवा घामको प्रकाशले तल तातो नहुने खालको बनाउनुपर्ने विज्ञ कार्कीले बताए । गड्यौला राख्नुभन्दा पहिले १५ देखि २० दिन खाद लगाएर सेलाएको गोबरलाई प्रयोग गर्नु राम्रो हो । तल घाँस, पराल वा सोत्तरको एक तह राखेर त्यसमाथि सेलाएको गोबर एक तह राख्नु उपयुक्त हुने कार्कीले बताए । ‘यसमा धेरै मिहनेत आवश्यक पर्दैन,’ उनले भने, ‘आफुलाई चाहिने गड्यौला मल आफै उत्पादन गर्न पनि सकिन्छ ।’
