अर्घाखाँचीमा पर्यटकलाई घरायसी जडीबुटी र तरकारी बेच्दै स्थानीय

पर्यटकले घरघरमा पुगेर तरकारी, खाद्यवस्तु, जडीबुटी खोज्न थालेपछि स्थानीयले बजारमा ल्याएर बेच्न थालेका हुन् ।

वैशाख २७, २०८३

वीरेन्द्र केसी

Locals selling household herbs and vegetables to tourists in Arghakhanchi

What you should know

अर्घाखाँची — सन्धिखर्क–गोरुसिंगे सडक खण्डको नरपानी पिकनिक स्थलछेउमै स्थानीय मनबहादुर रायमाझीले बोरा र प्लास्टिक बिछ्याएर स्थानीय घरायसी जडीबुटी र तरकारी बिक्रीका लागि राखेका छन् । उनका ग्राहक नरपानी आएका पर्यटक हुन् । 

सिस्नो, सिस्नोको धूलो, पखनवेद, टिमुर र तरकारी दैनिक बेच्छन् । ‘तरकारी आफ्नै बारीमा उत्पादन गर्छु,’ उनले भने, ‘जडीबुटी त जंगल चहार्दै खोज्नुपर्छ । राम्रो बिक्री भएको छ ।’ सुपा देउराली मन्दिरमा पूजा गरेपछि प्रसाद ग्रहणका लागि नरपानी पिकनिक स्थलमा आउँछन् । कोही घुम्न र प्रसाद ग्रहण गर्नेहरूले तरकारी र जडीबुटी किनेर लैजाने गर्ने उनले बताए । पखनवेदले शरीर, हातखुट्टा दुखेको बेला खाँदा निको हुने उनले बताए ।

जंगलमा पाइने टिमुर भने दाल, तरकारी, मासु, अचारलगायतका परिकारमा मिसाएर खाँदा स्वादिलो हुन्छ । टिमुर धेरैले किन्छन् । ‘बारी, खोला किनारामा सिस्नो जोगाई राखेका छौं,’ उनले भने, ‘सिस्नो टिपेर सुकाएर धूलो बनाएको र काँचो सिस्नो पनि बिक्री गर्छौं । नरपानीमा पर्यटकको चहलपहल हुनुअघि इस्कुस, फर्सी, सिस्नो लगायतका खानेकुरा भैसीले खान्थे र खेर जान्थे, अहिले पर्यटकलाई बिक्री गर्छौं ।’

चिसो ठाउँ नरपानीमा उत्पादन भएको खोले साग पनि तराईबाट आएका पर्यटकले किनेर लैजाने उनले बताए । तरकारी, जडीबुटी बिक्रीबाट आएको पैसाले घरमा नुनतेल, छोराछोरीको स्कुल पढाइ खर्च र आफ्नो पकेट खर्च पुग्ने गरेको उनले बताए । उनका अनुसार महिनामा १० देखि २० हजार रुपैयाँसम्म आम्दानी हुने गर्छ । 

बिहानभर घरधन्दा सकेर खानापछि नरपानीकी विनकला रायमाझीले बोरामा पोको पारेर दालचिनीका बोक्रा, बोझो र तरकारी बाटोमा ल्याउँछिन् । सिजन अनुसारका तरकारी, फलफूल र जडीबुटी उनी दैनिक बिक्री गर्छिन् । ‘एउटा मुठा साग, धनियाँ, पाकेको फर्सी लगायत खानेकुरा सबै बिक्री हुन्छ,’ उनले भनिन्, ‘खेर जाने र भैसीले खाने वस्तु अहिले नरपानीमा ल्याएर बिक्री गर्दा हातमा पैसा परेको छ । वन–जंगलमा खोज्न र बारीमा फलाउन सक्नुपर्छ, जे पनि बिक्री हुन्छ ।’

कहिलेकाहीँ पर्यटक गाडी लिएर घरघरमा पुगेर भटमास, मकै, गहुँ, आलु, घ्यू, दूध र दही किनेर खाने उनले बताइन् । घरमा लोकल कुखुरा, खसीबोका हुर्कन नपाउँदै किनेर लगिहाल्छन् । ‘पर्यटकले सुकासाग, गुन्द्रुक, मस्यौरा किन्छन्,’ उनले भनिन्, ‘अहिले उत्पादन गरेर नरपानीसम्म लैजानु परो । सबै बिक्री हुन्छ ।’

यसरी तरकारी, फलफूल, जडीबुटी बिक्री गरेर घरखर्च चलेको उनले बताइन् । पकेटमा दुई/चार हजार नगद टुट्दैन । उनले तितेकरेला, मूला, गोभी लगायतका तरकारी पनि बिक्री गरिरहेको बताइन् । 

नरपानी क्षेत्रमा होटल, रिसोर्टले पनि गाउँकै ताजा तरकारी किनिदिन्छन् । काफल, ऐंसेलु पनि खोसाखोस हुन्छ । पर्यटक घरघरमा पुगेर तरकारी, खाद्यवस्तु, जडीबुटी खोज्न थालेपछि स्थानीयले बजारमा ल्याएर बेच्न थालेका हुन् । 

युवा प्रीतम केसीले घरबारीमा थरीथरीका तरकारी उत्पादन गरेका छन् । पाखोबारीमा उनले गोलभेडा, लौका, काउली, प्याज, लसुन लगायतका खेती गरेका छन् । उनको उत्पादन स्थानीय नरपानी बजारमा बिक्री हुन्छ । चिसो ठाउँमा उत्पादन भएको तरकारी, खसीबोका, कुखुरा लगायत पर्यटकले सहजै खरिद गर्छन् । ‘खानलाई स्वादिलो र मिठो मान्दै पर्यटकले यहाँको उत्पादन किन्छन्,’ उनले भने, ‘नरपानी, खाँचीकोटका कृषकले कृषि उद्यमबाटै राम्रो आम्दानी हुँदा स्वरोजगार बनिरहेका छन् ।’ 

नरपानीदेखि दुई किलोमिटर दूरीमा अवस्थित सुपा देउराली मन्दिरमा र नरपानीमा भित्रिने पर्यटकको संख्या हरेक वर्ष बढ्दो छ । पर्यटकको संख्या बढ्दो भएकाले पनि नरपानीमा उत्पादन भएको हरेक वस्तुको माग पनि बढ्दो रहेको उनले बताए । 

नरपानीका पर्यटन व्यवसायी पदम केसीले पर्यटन क्षेत्रले नै यस क्षेत्रको कृषि उद्यम विकास हुँदै गएको बताए । ‘घरघरमै पुगेर कृषि उत्पादन खरिद गरिदिँदा स्थानीयमा उत्साह जागेको छ,’ उनले भने, ‘कृषिबाटै स्थानीय स्वरोजगार बन्दैछन् । तीन तहको सरकारले नरपानी आउने पर्यटकलाई भुलाउन पर्यटकीय पूर्वाधारसहित संरचना निर्माण गरिदिए यस क्षेत्रको पर्यटन बिजनेस पनि बढ्नेछ ।’

वीरेन्द्र केसी कान्तिपुरका अर्घाखाँची संवाददाता हुन् ।

Link copied successfully