हरेक वर्ष सुनिश्चितता गर्ने कार्यक्रमअनुसार पूर्वखोला गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता’, ‘पूर्ण संस्थागत प्रसूति दिगोपना’ र ‘पोषण मैत्री स्वास्थ्य संस्था’ भएको गाउँपालिका घोषणा गरिएको छ ।
What you should know
पाल्पा — पूर्वखोला गाउँपालिकामा सात वर्षदेखि घरमा सुत्केरी हुनेको संख्या शून्य रहेको छ । भौगोलिक रूपमा विकट रहे पनि यहाँका ६ वटै वडामा संस्थागत सुत्केरी भएको स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताए । उनका अनुसार प्रत्येक वर्ष संस्थागत प्रसूति सुनिश्चितता गरिएको छ ।
संस्थागत प्रसूति गराउन स्वास्थ्य संस्थाहरूबाट मासिक २१ वटा खोप केन्द्रबाट नियमित खोप, १७ वटा गाउँघर क्लिनिकबाट स्वास्थ्य सेवा र ५५ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूबाट नियमित सेवा प्रदान गरिँदै आएको उनले बताए । सरकारले तोकेको निर्देशिकाबमोजिम सम्पूर्ण सूचकहरूको प्रक्रिया पूरा गरी तत्कालीन जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको समन्वयमा पाल्पा जिल्लाभित्रका सम्पूर्ण गाविस तथा नगरपालिकाहरूमा पूर्ण खोप घोषणा गरी नेपालमै पहिलो पूर्ण खोपयुक्त जिल्ला पाल्पा २०७० मै भएको हो ।
यसैको दिगोपना तथा पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष फागुन र चैत महिनामा नियमित खोपको घरभेट सर्वेक्षण लाइन लिस्टिङ्ग गरिन्छ । स्वास्थ्य शाखा प्रमुख ढकालका अनुसार उमेर अनुसार लगाउनु पर्ने खोप पाए नपाएको यकिन गरी पुनः गाउँपालिकाबाट फरक स्वास्थ्य चौकीबाट नमुना धरधुरी सर्वेक्षण गर्दा समेत छुटेका बच्चा नभेटेको यकिन गर्ने गरिएको छ । यही कार्यको निरन्तरताका लागि सम्पूर्ण प्रक्रिया पुर्याइ यस गाउँपालिकाको सबै वडाहरूको पूर्ण खोप सुनिश्चितता घोषणाको लागि गर्नुपर्ने सम्पूर्ण प्रक्रिया पूरा गर्ने गरेको उनले बताए ।
सबै मापदण्ड पूरा गरी पूर्वखोला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । गर्भावस्थादेखि सुत्केरी अवस्थासम्मको हेरचाह तथा सेवाको पहुँच र गुणस्तर अभिवृद्धि गर्न, घरमा हुने सुत्केरीलाई निरुत्साहित गर्दै शून्यमा झार्ने तथा सुरक्षित प्रसूतिलाई संस्थागत गर्दै त्यसको दिगोपनाको सुनिश्चितता कायम गरिएको उनले बताए । मातृ तथा नवजात शिशुको मृत्युदर घटाउनका लागि पूर्वखोला गाउँपालिका लुम्बिनी प्रदेशमै पहिलो पर्णसंस्थागत सुत्केरी घोषणा गरिएको थियो । ‘त्यसैको निरन्तरता अहिले पनि छ,’ स्वास्थ्य शाखा प्रमुख ढकालले भने ।
चारपटक गर्भ जाँच गराएको गर्भवती महिलाको संख्या १ सय ३३ र प्रसूति गराएकाको संख्या १ सय ३५ रहेको छ । घरमा प्रसूति गराएका, बाटोमा प्रसूति गराएको संख्या शून्य, प्रोटोकल अनुसार ३ पटक प्रसूति जाँच गराएको संख्या सतप्रतिशत रहेको उनले बताए । पूर्वखोला गाउँपालिकामा किशोरकिशोरी मैत्री सेवाका लागि छनोट भई सेवा विस्तार भएका स्वास्थ्य संस्था ४ वटा रहेका छन् । जल्पा, रिड्नेरह, बीरकोट, हेक्लाङ स्वास्थ्य चौकीलाई किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था प्रमाणीकरण गरिएको छ ।
हरेक वर्ष सुनिश्चितता गर्ने कार्यक्रमअनुसार पूर्वखोला गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता’, ‘पूर्ण संस्थागत प्रसूति दिगोपना’ र ‘पोषण मैत्री स्वास्थ्य संस्था’ भएको गाउँपालिका घोषणा गरिएको छ ।
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारु, जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुकप्रसाद पोखरेलले गाउँपालिका अध्यक्ष नुनबहादुर थापा, उपाध्यक्ष भागिरथी भट्टराई, प्रमुख प्रशासकीय अधिकृत राजु नेपाललाई सुनिश्चितताको प्रमाणपत्र प्रदान गरे ।
मन्त्री सारुले लुम्बिनी प्रदेशमै पहिलोपटक पूर्ण संस्थागत प्रसूति घोषणा भएकाले यसको निरन्तरताको शुभकामना दिए । गाउँपालिकाले स्वास्थ्यका सूचकहरूमा हासिल गरेको सफलतालाई अन्य पालिकाले अनुसरण गर्नुपर्ने उनले बताए । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख खनालले १० स्थानीय तहमध्ये पूर्वखोला २०७६ सालमा पहिलो भएकाले यसको निरन्तरताका लागि आग्रह गरे ।
गाउँपालिका अध्यक्ष थापाले नागरिकको सहज पहुँचमा स्वास्थ्य सेवा उपलब्ध गराउन पालिकाले स्वास्थ्यको क्षेत्रमा लगानी बढाएको बताए । गाउँपालिका उपाध्यक्ष भट्टराईले पालिकाभित्रका सबै स्वास्थ्य संस्थाहरूको दिगोपना सुनिश्चित गर्दै किशोरकिशोरी मैत्री सेवालाई अझ प्रभावकारी बनाउने बताइन् । स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख टुकप्रसाद पोखरेलले प्रदेश मात्र नभई देशकै पहिलो बनाउने अभियानलाई सहयोग पुगेको उनले बताए । प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले सबै स्वास्थ्य संस्थाहरूबाट सहज रूपमा नागरिकलाई सेवा उपलब्ध गराउने भएकाले सुनिश्चितता गराउन सफल भएको बताए ।
