शुक्रबारदेखि सुरु भएको शिविर सोमबारसम्म सञ्चालन हुने प्रतिष्ठानका निमित्त प्रमुख सह–निर्देशक डा. सुरेश रसाइलीले बताए ।
दाङ — राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा नि:शुल्क जलन उपचार शिविर सञ्चालन भइरहेको छ । नबिल बैंक लिमिटेड र सुष्मा कोइराला मेमोरियल ट्रष्ट अस्पतालको समन्वयमा जिल्लामै पहिलोपटक जलन उपचार शिविर सुरु भएको हो ।
शुक्रबारदेखि सुरु भएको शिविर सोमबारसम्म सञ्चालन हुने प्रतिष्ठानका निमित्त प्रमुख सह–निर्देशक डा. सुरेश रसाइलीले बताए । ‘जलनका कारण जीवन रोकिँदैन, उपचारले जीवनमा परिवर्तन ल्याउन सक्छ’ भन्ने मूल नाराका साथ भइरहेको शिविरमा जलन उपचारसम्बन्धी नि:शुल्क अप्रेसनसमेत भइरहेको छ । प्रतिष्ठानमा सम्भव नभएका अप्रेसन काठमाडौंमा गर्नुपरेमा पनि नि:शुल्क हुने भएको छ ।
जलनका कारण समस्या भएका कुनै पनि बिरामीले यस शिविरबाट लाभ लिन सक्ने नबिल बैंकले जानकारी दिएको छ । नबिल बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्तो शिविर सञ्चालन गरिरहेको छ । यसअघि धनगढी, सुर्खेत र वीरगञ्जमा पनि यस्तै शिविर सम्पन्न भएका छन् ।
प्रतिष्ठानले यसै आर्थिक वर्षदेखि जलन उपचार सेवा सुरु गर्ने तयारी गरिरहेको छ । यसका लागि कीर्तिपुर जलन अस्पतालसँग प्राविधिक सहकार्यका लागि सम्झौता भइसकेको र सुष्मा कोइराला ट्रष्टको जलन अस्पतालसँग समेत सहकार्य गर्ने थप तयारी भइरहेको डा. रसाइलीले बताए । प्रतिष्ठानले चालु आर्थिक वर्षमै कम्तीमा चार वेडको जलन एकाइ व्यवस्थापन गर्ने योजना बनाएको उनले जानकारी दिए ।
