भैरहवा नाकामा एमआरपी नियमले असहज बनेको आयात प्रक्रिया विभागको सहजीकरणपछि सुरु

आयातकर्ताले आफूले आयात गरेको वस्तुको बजारमा बिक्री वितरण गर्नु अगावै एमआरपी, ब्राण्ड र उपभोग्य मिति लगायतका विवरणको लेबल टाँस्ने प्रतिबद्धतासहितको लिखित स्वघोषणा गराएर तत्कालका लागि आयात गर्न सकिने भनी भन्सार विभागले सहजीकरण गरेको हो ।

वैशाख २५, २०८३

माधव ढुंगाना

Import process at Bhairahawa border, which was made difficult by MRP rules, has begun after the department's facilitation.

भैरहवा — भन्सार बिन्दुमै अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने नियमले असहज बनेको आयात प्रक्रिया भन्सार विभागको सहजीकरणपछि भैरहवा नाकाबाट सुरु हुन थालेको छ । 

आयातकर्ताले आफूले आयात गरेको वस्तुको बजारमा बिक्री वितरण गर्नु अगावै एमआरपी, ब्राण्ड र उपभोग्य मिति लगायतका विवरणको लेबल टाँस्ने प्रतिबद्धतासहितको लिखित स्वघोषणा गराएर तत्कालका लागि आयात गर्न सकिने भनी भन्सार विभागले सहजीकरण गरेको हो ।

भैरहवा भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलले भन्सार विभागले उक्त सहजीकरण गरेको जानकारी मौखिक रुपमा गराएपछि बिहीबारदेखि आयात सुरु हुन थालेको बताए । ‘त्यस्ता वस्तुको आयात गरेका व्यवसायीबाट भन्सारमै लिखित प्रतिबद्धतासहितको स्वघोषणा गराइएको छ,’ पौडेलले भने ।

आयात गरिएको सामानमा व्यवसायीले एमआरपी लगायतका विवरणको लेबल गोदाममै टाँस्न पाउनुपर्ने माग छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको चैत ३० गतेको पत्र अनुरुप उक्त नियम कार्यान्वयनका लागि वाणिज्य विभागले १५ दिने सूचना जारी गरेपछि गत बैशाख १४ गतेदेखि एमआरपी उल्लेख नगरिएका वस्तुको आयात भन्सारमै रोक्न थालिएपछि आयात प्रक्रिया असहज बनेको थियो ।

अति छोटो समयमा यो नियम लागू गरिएको, नियम कार्यान्वयन गर्नु अगावै आयातका लागि विदेशमा सामान अर्डर गरिसकिएको र कतिपय सामानको एमआरपी टाँस्न नमिल्ने लगायतका कारण देखाउँदै आयातकर्ताले यो नियम अव्यवहारिक भएको भन्दै आयातित सामानको भन्सार नै गराएका थिएनन ।

आयातकर्ताले भन्सार नछुटाउँदा धेरै दिनसम्म त्यस्ता सामान भन्सारमा र बीच बाटोमै रोकिएका थिए । नेपाल भन्सार एजेन्ट संघ, सिद्धार्थनगरका अनुसार यो नियमले भैरहवा नाकामा ४ सयभन्दा धेरै गाडीमा लोड भएका सामान भन्सार नभएर रोकिएका थिए । 

व्यवसायिक प्रयोजनका लागि विदेशबाट पैठारी हुने तयारी खाद्य सामग्री वा सो को प्याकिङमा वस्तुको ब्राण्ड, एमआरपी र उपभोग्य मिति लगायतका विवरण खुलेको लेबल तथा अन्य तयारी वस्तुको हकमा सम्बन्धित वस्तुको ब्राण्ड र एमआरपी सहितको लेबल खुलेको सुनिश्चित गर्ने भन्दै वाणिज्य विभागले चैत ३० गते १५ दिने सूचना जारी गरेको थियो ।

उक्त नियमलाई कार्यान्वयन गर्न भन्सार बिन्दुमै कडाइ गरिएको थियो । भैरहवा भन्सार कार्यालयका अनुसार, उक्त नियम लागू भएपछि बैशाख १४ गतेदेखि भैरहवा भन्सार नाकाबाट आयात घट्दै गएको थियो । भन्सार सहजीकरण गरिएपछि बिहीबारसम्म रोकिएका ९० भन्दा धेरै ट्रकका सामान भन्सारबाट छुटेका छन् । बिहीबारमात्रै भैरहवा भन्सार कार्यालयले ५४ करोड रुपैयाँ भन्सार राजश्व असूली गरेको छ । यो असूली बैशाख १४ गते यताको पहिलो भएको भन्सार प्रमुख पौडेलले जनाए ।  

भारत तथा तेस्रो मुलुकबाट आयात गरिएका सामान सरकारले सूचना जारी गर्नुपूर्व नै लोड भएर नेपालतर्फ हिँडिसकेकाले एमआरपी कार्यान्वयनमा जटिलता देखिएको नेपाल भन्सार एजेन्ट संघ, सिद्धार्थनगरका अध्यक्ष मधुप्रसाद पन्थीले बताए ।

‘जापान, चीन लगायतका मुलुकबाट आयात गरिएका सामान भन्सार नाकामै आउन महिनौ लाग्छ । तर, एमआरपी लागू छोटो सूचनाका आधारमा भयो’, पन्थीले भने, ‘जसले गर्दा टाढाबाट आयात गरिएका सामानहरुमा कार्यान्वयन गर्न जटिलता भयो ।’

माधव ढुंगाना कान्तिपुरका भैरहवा संवाददाता हुन् ।

Link copied successfully