थबाङमा संगीत उत्सवको अवसरमा कलाकारहरू जीवन शर्मा, मधु गुरुङ, उदय श्रेष्ठ, हेमराज आश्रम, सीता आचार्य, मोहित श्रेष्ठ, केशरी घर्तीमगर, कुलानन्द गिरी, महेश आरोही लगायत उपस्थित थिए ।
What you should know
रोल्पा — थबाङमा जनकलाकारले संगीत उत्सव गरेका छन् । नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानको आयोजनामा गत वैशाख १९ र २० मा रोल्पाको थबाङमा प्रगतिशील संगीत उत्सव सम्पन्न भएको हो ।
दुईदिने कार्यक्रमको सुरु दिनमा ‘नेपाली समाजमा प्रगतिशील संगीत’ विषयक सेमिनारको आयोजना गरिएको थियो । प्रज्ञाप्रतिष्ठानकी तत्कालीन सदस्य–सचिव कुश्मा महरा ‘प्रगति’ले जनवादी गीत र संगीतको संरक्षणमा ध्यान पुग्नुपर्ने र प्रतिष्ठानले उक्त योजना अघि सारेको बताइन् ।
‘प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि’ भन्ने मुख्य नारासहित कार्यक्रम आयोजना गरिएको थियो । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले उद्घाटन गर्दै उनले नेपाली राजनीतिको आमूल परिवर्तनमा प्रगतिशील कला, संस्कृति, साहित्य र संगीतको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे । ‘सुरुदेखि नै गीत र संगीतप्रति मानिसहरूको आकर्षण वृद्धि भएको हो । अब पनि प्रगतिशील संगीतलाई जोगाउनु आवश्यक छ,’ उनले भने ।
कलाकारले विचार, राजनीति र दर्शनशास्त्रप्रति कम चासो देखाउनाले जनवादी संस्कृति हट्दै गएको टिप्पणी गरे । सुरुमा जनवादी धारणाले भरिपूर्ण भए पनि अन्ततः राज्य सञ्चालनमा पुगेका नेताको बदलिएको आचरणले वैचारिक विचलन देखिएको उनीहरूको धारणा छ ।
प्रगतिशील सांस्कृतिककर्मीहरू अचेल गलत आचरणबाट प्रभावित भएको समेत टिप्पणी छ । जनसांस्कृतिक महासंघका अध्यक्ष भीम कुमाखी र रोल्पा कला प्रतिष्ठानका अध्यक्ष जीवन रोकामगरले जनवादी संस्कृतिका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । यसैबीच रोल्पा परिवर्तन निवासी दिलीप बुढा मगर (डीबी स्वेद)ले लेखेको गजल संग्रह ‘सफर’ को मुख्य अतिथि रहेका लुम्बिनी प्रदेशका सभामुख घर्तीमगरले लोकार्पण गरेका थिए ।
थबाङमा उत्सवको अवसरमा कलाकारहरू जीवन शर्मा, मधु गुरुङ, उदय श्रेष्ठ, हेमराज आश्रम, सीता आचार्य, मोहित श्रेष्ठ, केशरी घर्तीमगर, कुलानन्द गिरी, महेश आरोही लगायत उपस्थित थिए । नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानको आयोजनामा मुलुकभरका प्रतिष्ठित एवं अग्रज प्रगतिशील कलाकार उपस्थित भएको उक्त कार्यक्रमको सह आयोजक भने रोल्पा कला साहित्य प्रतिष्ठान रहेको थियो ।
कार्यक्रमको प्रायोजन थबाङ गाउँपालिकाले गरेको थियो । थबाङस्थित बहुउद्देश्यीय सभा हलमा खचाखच भरिएका स्थानीयले तत्कालीन सशस्त्र संघर्षको बेलामा झैं जनकलाकारको सांगीतिक प्रस्तुति आनन्दपूर्वक श्रवण गरेका थिए ।
