छहरा आधारभूत अस्पताल भवन निर्माणको म्याद सकिनै लाग्दा २८ प्रतिशत मात्रै प्रगति

२२ करोड १७ लाख रुपैयाँमा भवन बनाउने ठेक्का लिएको प्राकृतिक निर्माण प्रालिको म्याद सकिन अब ५ महिना मात्र बाँकी ।

वैशाख २५, २०८३

माधव अर्याल

Only 28 percent progress as Chhahara Basic Hospital building construction deadline nears

What you should know

पाल्पा — निर्माण व्यवसायीको लापरबाहीले पाल्पाको रैनादेवी छहरा गाउँपालिकास्थित आधारभूत अस्पतालको भवन निर्माणमा ढिलासुस्ती भएको छ । निर्माण सम्पन्न गर्ने म्याद सकिन पाँच महिना बाँकी छँदा २८ प्रतिशत मात्र काम भएको हो । गत २०८० असोजमा तीन वर्षमा काम सक्ने गरी प्राकृतिक निर्माण प्रालिसँग ठेक्का सम्झौता भएको हो । 

रैनादेवी छहरा गाउँपालिकाकी प्राविधिक शाखा प्रमुख एन्जिला रानाका अनुसार अहिलेसम्म निर्माण व्यवसायीले अटेरी गरी काम नगर्दा प्रगति हासिल गर्न सकिएन । ‘यही रफ्तारले काम गरेर वर्षौं सकिँदैन,’ उनले भनिन्, ‘पटक–पटक कामलाई तीव्रता दिन हामीले आग्रह गरेका हौं तर अटेरीपन भएपछि केही गर्न सकिएन ।’ २२ करोड १७ लाख लागतमा १५ शय्याको आधारभूत अस्पताल निर्माणका लागि काम सुरु भएको हो । तर पिलर र अलपत्र भुइँ ढलान लगायतका काम मात्रै भएको छ । 

रैनादेवी छहरा सदरमुकामदेखि पश्चिम अर्घाखाँचीसँग जोडिएको छ । यहाँका कतिपय वडा अहिले पनि दुर्गम पर्छ । बिरामी हुँदा वा सुत्केरी व्यथाले छटपटाएका आमाहरूले सदरमुकाम तानसेन पुग्न नपरोस् भनेर नै आधारभूत अस्पतालको अवधारणा आएको हो । यस क्षेत्रका अधिकांश बासिन्दा अहिले पनि सामान्य बिरामी हुँदासमेत महँगो गाडी भाडा तिरेर तानसेनका अस्पतालका साथै बुटवल पुग्नुपर्ने स्थानीय कविता खत्रीले बताइन् । ‘गाउँमै अस्पताल बन्दा सबैले फाइदा पाउने हो,’ उनले भनिन्, ‘तीन वर्ष पुग्न लाग्दा पनि पिल्लर नै माथि उठेको छैन ।’

सरकारले आधारभूत स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले अस्पताल घोषणा गर्दा रैनादेवी छहराबासीमा खुसीयाली छाएको उनले बताइन् । अहिलेसम्म ८० प्रतिशत काम भइसक्नुपर्ने थियो । तर निर्माण व्यवसायीले निर्माणस्थलमा पर्याप्त मजदुर परिचालन गरेको छैन । कामलाई तीव्रता दिने उपकरणसमेत नराखेको स्थानीय कमल घिमिरेले बताए । ‘ठेक्का प्रक्रिया अघि बढ्दा नै आफ्नै गाउँमै उपचार पाइने आशा थियो,’ उनले भने, ‘ठेकेदारको बदमासीले पुरानै पीडा भोग्नपर्ने अवस्थामा छौं ।’ 

अस्पताल भवनका लागि साइट इन्चार्ज सन्तोषकुमार श्रेष्ठले महँगी र तेलको अभावलले काममा ढिलाइ भएको बताएका छन् । म्याद सकिने अन्तिम समयमा काम सक्ने उनको दाबी छ । तर प्राविधकले भने यही अवस्थाले निर्माण व्यवसायीको दाबी ठाडै अस्विकार गर्छन् । रैनादेवी छहरा गाउँपालिका अनुगमन समितिका संयोजक एवं उपाध्यक्ष युवराज थापाले निर्माण व्यवसायीलाई रफ्तारमा काम गर्न निर्देशन दिएका छन् । पटक–पटक मौखिक र लिखित निर्देशन दिँदा व्यवसायीले अटेर गरेको उनले बताए । ‘जनताको स्वास्थ्यसँग खेलबाड गर्ने छुट कसैलाई छैन,’ उनले भने, ‘यस्तै हो भने कानुनी प्रक्रियामा जान्छौं र निर्माण व्यवसायीलाई कारबाहीको दायरामा ल्याउँछौं ।’

गाउँपालिका अध्यक्ष रुक्मागत भट्टराईले काममा भएको ढिलासुस्ती जनताप्रतिको मजाक भएको बताए । उनले केही पिलर ठड्याएर समय कटाउने रणनीति अब नचल्ने सुनाए । तत्काल कामले गति लिएन भने ठेक्का तोडेर निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गर्ने उनले बताए । ‘विकासका नाममा ढिलासुस्ती गर्ने छुट कसैलाई छैन,’ उनले भने, ‘कानुनी प्रक्रियामा जानुपरे जान्छौं । समयमा काम गराउन हर प्रयास गरिनेछ ।’

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully