लुम्बिनीमा  थारु र मगर  भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग

थारु कल्याणकारिणी सभा दाङले थारु भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिन माग गर्दै मुख्यमन्त्रीसमक्ष ज्ञापनपत्र पेस गरेको छ भने नेपाल मगर संघ लुम्बिनी प्रदेश समितिले पनि मगर भाषालाई प्रदेशस्तरमा सरकारी कामकाजको भाषाका रूपमा लागू गर्न आग्रह गरेको छ ।

वैशाख २३, २०८३

दुर्गालाल केसी

Demand to make Tharu and Magar languages ​​official languages ​​in Lumbini

What you should know

दाङ —  

विभिन्न आदिवासी जनजाति संघसंस्थाले लुम्बिनी प्रदेशमा थारु र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग गरेका छन् । उनीहरुले बुधबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई ज्ञापनपत्र बुझाउँदै उक्त माग गरेका हुन् ।

थारु कल्याणकारिणी सभा दाङले थारु भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिन माग गर्दै मुख्यमन्त्रीसमक्ष ज्ञापनपत्र पेस गरेको छ । सभाका अध्यक्ष अशोककुमार चौधरीले लुम्बिनी प्रदेशमा थारु समुदायको उल्लेखनीय जनसंख्या रहेको र भाषा आयोगको सिफारिससमेत भएकाले तत्काल कार्यान्वयन गर्नुपर्ने माग गरे ।

नेपाल मगर संघ लुम्बिनी प्रदेश समितिले पनि मगर भाषालाई प्रदेशस्तरमा सरकारी कामकाजको भाषाका रूपमा लागू गर्न माग गरेको छ । संघका अध्यक्ष खलुप्रसाद पुन मगरद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा मगर भाषा प्रदेशमा व्यापक रूपमा बोलिने भएकाले सरकारी कार्यालय, सूचना तथा सेवा प्रवाहमा यसको प्रयोग सुनिश्चित गर्नुपर्ने उल्लेख गरेका छन् ।

ज्ञापनपत्रमा मगर भाषा जान्ने कर्मचारीको व्यवस्थापन, आवश्यक तालिमको प्रबन्ध तथा स्थानीय तहसँग समन्वय गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्ने मागसमेत गरिएको छ । यसबाट मगर समुदायलाई सरकारी सेवा प्राप्त गर्न सहज हुने र समावेशी शासन प्रणाली सुदृढ हुने विश्वास व्यक्त गरिएको छ ।

मगर संघले मगर समुदायको मौलिक सांस्कृतिक पर्व ‘भूमे पर्व’ का अवसरमा प्रत्येक वर्ष असार १ गते प्रदेशभर सार्वजनिक बिदा घोषणा गर्नसमेत माग गरेको छ । प्रकृतिपूजामा आधारित उक्त पर्वले सामाजिक सद्भाव, सांस्कृतिक एकता र परम्परागत जीवनशैलीलाई सुदृढ बनाउने ज्ञापनपत्रमा उल्लेख छ ।  

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री आचार्यले आदिवासी जनजातिको भाषा, संस्कृति र सभ्यताको संरक्षण तथा प्रवर्द्धनका लागि प्रदेश सरकारले आवश्यक नीति तथा कानुन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले आदिवासी जनजाति ऐन निर्माण गरी समुदायका अधिकार सुनिश्चित गर्ने दिशामा सरकार अघि बढिरहेको बताए । आचार्यले भाषिक समानता, सांस्कृतिक विविधताको सम्मान र सामाजिक समावेशीतालाई मजबुत बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको पनि बताए ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully