बुधबार विजयनगर गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित स्थानीय तह घोषणा गरिएको हो । यसअघि जिल्लाका बुद्धभूमि, बाणगंगा र महाराजगन्ज नगरपालिका तथा शुद्धोधन गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भइसकेका छन् ।
कपिलवस्तु — जिल्लाका पाँच स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित स्थानीय तह घोषणा गरिएको छ । बुधबार विजयनगर गाउँपालिकालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चित स्थानीय तह घोषणा गरिएसँगै यसको संख्या पाँच पुगेको हो ।
विजयनगर गाउँपालिकामा एक वर्षमुनिका १ हजार १ सय १९ जना तथा ६ देखि २३ महिनासम्मका १ हजार ५ सय ६२ जना बालबालिकालाई पूर्ण रूपमा खोप लगाइएपछि पूर्ण खोप सुनिश्चित स्थानीय तह घोषणा भएको गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री खेम सारुले पूर्ण खोप सुनिश्चितता कार्यक्रम बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि अत्यन्त महत्त्वपूर्ण रहेको बताए । ‘खोप कार्यक्रमका कारण बाल मृत्युदर घटाउन ठूलो योगदान पुगेको छ,’ उनले भने, ‘अभियानलाई अझ प्रभावकारी बनाउन लागेको छु ।’
यसअघि जिल्लाका बुद्धभूमि, बाणगंगा र महाराजगन्ज नगरपालिका तथा शुद्धोधन गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भइसकेका छन् । बाँकी पाँच पालिका पनि घोषणा प्रक्रियामा रहेको जिल्ला स्वास्थ्य कार्यालयका खोप फोकल पर्सन केदारनाथ शाहले बताए ।
चालु आवमा जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई १३ प्रकारका खोप नियमित रूपमा प्रदान गरिएको छ । घोषणा भएका पालिकामा शतप्रतिशत खोप सुनिश्चित गरिएको छ भने बाँकी रहेका स्थानीय तहमा छुटेका बालबालिकालाई खोजी–खोजी खोप लगाउने अभियान सञ्चालन भइरहेको छ ।
