बुटवलमा राष्ट्रिय महिला फुटबल वैशाख २६ देखि, पुरस्कार राशी २ लाख ५० हजार पुग्यो

बीस पचहत्तर युवा परिवारको आयोजनामा बुटवलको सिद्धेश्वर खेलमैदानमा वैशाख २६ देखि हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

वैशाख २१, २०८३

घनश्याम गौतम

National Women's Football Tournament in Butwal from April 26, prize money reaches Rs. 250,000

बुटवल — बुटवलमा २ लाख ५० हजार पुरस्कार राशीको दोस्रो सस्करणको राष्ट्रिय महिला फुटवल प्रतियोगिता हुने भएको छ ।

बीस पचहत्तर युवा परिवारको आयोजनामा बुटवलको सिद्धेश्वर खेलमैदानमा वैशाख २६ देखि हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । खेल मैदान मर्मत, व्यवस्थापन, टिम दर्तालगायतका सबै तयारी पूरा भएको परिवारका अध्यक्ष सुरेन्द्र थापाले बताए ।

दोस्रो संस्करणमा पुरस्कार राशी बृद्धि गरेर प्रथम पुरस्कार २ लाख ५० हजार, दोस्रो १ लाख २५ हजार, सर्वोकृष्ठ खेलाडीलाई २५ हजार तथा अन्य विभिन्न विधाका उत्कृष्ठ खेलाडीलाई १०/१० हजार पुरस्कार राखिएको उनले बताए ।

बुटवल उपमहानगरपालिका ७ का वडाअध्यक्ष पदमराज गाहाले स्थानीय सरकार खेलकुदको विकास सधै साथमा रहेको प्रतिवद्धता जनाए । प्रतियोगितामा यस वर्ष पनि दर्शकलाई सहजताका लागि करिब ३ हजार दर्शक अट्ने अस्थायी प्याराफिट व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न २७ लाख ८५ हजार रुपैयाँ खर्च हुने अनुमान रहेको अध्यक्ष थापाले बताए ।

वैशाख २६ देखि जेष्ठ २ सम्म संचालन हुने प्रतियोगितामा गत वर्षको विजेता ट्रिनेटी युवा क्लब वालिङ, उपविजेता राईजिङ स्टार क्लब, कपिलवस्तु, पद्मा स्पोर्टस् क्लब ओखलढुंगा, आरएस क्लब पोखरा, नेपाल पुलिस क्लब, संकटा क्लब काठमाडाैं, मकवानपुर फुटबल एकेडेमी हेटौ‌ंडा तथा आयोजक बिस पचहत्तर युवा क्लब गरी ८ टिमले प्रतिस्प्रर्धा गर्दैछन् ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully