गत बिहीबार रुकुम पूर्वको रुकुमकोटबाट रोल्पाको जलजलातर्फ गइरहेको जिप पल्टिदा २० जनाको मृत्यु भएपछि प्रहरीले रुकुम पूर्वमा यो अभियानलाई कडाईका साथ लागु गरेको हो ।
रुकुम पूर्व — रुकुम पूर्वमा सार्वजनिक सवारी साधनमा मापदण्ड विपरित राखिएका छत हटाउन थालिएको छ ।
सवारी साधनहरुमा जथाभावी छत बनाएर क्षमताभन्दा धेरै यात्रु तथा मालसामान बोक्दा दुर्घटनाको जोखिम बढेको भन्दै शनिबारदेखि यो अभियान संचालन गरेको हो । गत बिहीबार रुकुम पूर्वको रुकुमकोटबाट रोल्पाको जलजलातर्फ गइरहेको जिप पल्टिदा २० जनाको मृत्यु भएपछि प्रहरीले रुकुम पूर्वमा यो अभियानलाई कडाईका साथ लागु गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक गोपाल न्यौपानेले यो अभियान विगतदेखि नै चलिरहे पनि २० जनाकै निधन भएको पछिल्लो दुर्घटनापछि थप तिब्रता दिइएको बताए । यातायात कार्यालयबाट छत राख्न अनुमति पाएकाबाहेकका सबै सार्वजनिक सवारी साधनको छत हटाउने र क्षमताभन्दा धेरै यात्रु राख्न कडाई गर्न थालिएको न्याैपानेले बताए ।
