बालगृहमा रहेका ३२ जना असहाय बालबालिकालाई भोजन दानका साथ ब्याग, खेलकुद तथा स्टेसनरी सामग्रीलगायत वितरण गरिएको हो ।
कपिलवस्तु — कपिलवस्तुस्थित बालगृहमा रहेका बालबालिकालाई २५७० औं बुद्ध जयन्तीको अवसर पारेर शनिबार विभिन्न सहयोग सामग्री वितरणका साथ भोजन दान गरिएको छ ।
प्राचीन कपिलवस्तु बचत समूह, सिद्धार्थटोल तौलिहवाको आयोजनामा बालगृहमा रहेका ३२ जना असहाय बालबालिकालाई ब्याग, खेलकुद तथा स्टेसनरी सामग्री र झुल लगायतका सामग्री वितरण गरिएको हो ।
कार्यक्रममा कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलले बुद्धका उपदेशलाई व्यवहारमा उतारेर मानवसेवा गर्दा मैत्रीभाव, करुणा र सामाजिक सद्भाव अझ बलियो बनाउन सहयोग पुग्ने बताए । त्यस्तै लुम्बिनी विकास कोषका पूर्वकार्यकारिणी सदस्य राजेश ज्ञवाली, अधिकारकर्मी रवि ठाकुर, बचत समूहकी अध्यक्ष अञ्जना खत्री ज्ञवाली र टीका भट्टराई जोशीले बालबालिकाको अधिकार सुनिश्चित गर्नु सबैको साझा दायित्व हुनुपर्ने बताइन् ।
नेपाल–भारत मैत्री संघ, रोयल थाई मोनास्ट्री लुम्बिनी, लुम्बिनी स्वर्णभूमि फाउन्डेसन, वाट थाई कपिलवस्तु निग्रोधाराम, सारिपुत्र फाउन्डेसन तथा नेपाल अर्बुद रोग निवारण संस्थाको सहयोगमा कार्यक्रम गरिएको हो ।
