जलजला जिप दुर्घटना : शव संकलन थालियो, पहिचान बाँकी

रोल्पामा बिहीबार दिउँसो अत्यधिक पानी परेकाले तत्काल उद्धारमा कठिनाइ भएको थियो । शुक्रबार बिहानैदेखि शव संकलन थालिएको छ ।

वैशाख १८, २०८३

काशीराम डाँगी

Jaljala jeep accident: Collection of bodies begins, identification pending

रोल्पा — बिहीबार दिउँसो रोल्पाको धार्मिक स्थल जलजला नजिकै भएको जिप दुर्घटनामा ज्यान गुमाएका २० तीर्थयात्रीको शव संकलन थालिएको छ । रुकुम पूर्वबाट वैशाख पूर्णिमाका दिन पूजापाठ गर्न जलजला आउने क्रममा तीर्थयात्री चढेको लु १ ज ४१७६ नम्बरको जिप दुर्घटनामा परेको थियो । एकजना मात्रै बाँच्न सफल भएका थिए । 

प्रहरीका अनुसार मृतकहरुको शव संकलन कार्य शुक्रबार बिहानबाट थालिएको हो । रोल्पाको थबाङ गाउँपालिकाको १ र ४ नम्बरको सीमा सल्याप जंगलबाट जिप करिब ८ सय मिटर तल खसेको थियो । बिहीबार रातिसम्म शव संकलन गर्न नसकिएपछि प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलसहित स्थानीय शुक्रबार बिहानैदेखि खटिएका छन् ।

घटनास्थल पुगेका रोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले सबै २० शवमध्ये आधाजति बिहान ११ बजेसम्म सडकसम्म ल्याइएको बताए । सबै शव संकलन गरिसकेपछि पहिचान गरिने उनले बताए । प्रारम्भिक जानकारी अनुसार मृतकहरुमा ४ बालक, १२ महिला र ४ जना पुरुष भएको प्रहरीले जनाएको छ । तीमध्ये कतिपय एकै परिवारका हुन सक्ने घटनास्थल पुगेका रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले बताए । 

रोल्पामा बिहीबार दिउँसोदेखि अत्यधिक पानी परेकाले दुर्घटनाको तत्काल उद्धार गर्न कठिनाइ भएको थियो । बिहीबार थबाङ पुगेका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतम, प्रहरी प्रमुख प्रनाउ विश्वकर्मा, सशस्त्र प्रहरी प्रमुख प्रनाउ दीपेन्द्र पाण्डे र नेपाली सेनाका अधिकारीसहितको टोलीले बिहानैदेखि उद्धार थालेको हो । प्रहरीका अनुसार शव संकलन र पहिचान भएपछि मृतकका शव परिवारलाई बुझाइनेछ । 

काशीराम डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully