आक्रमणबाट गम्भीर घाइते भएका जिनराम थनेतको घटनास्थलमा नै मृत्यु भएको थियो भने उनकी श्रीमती गुलबसनिया थनेतको नयाँ मेडिकल कलेज चितवनमा उपचार भैरहेको छ ।
नवलपुर — कास्की कारागारबाट भागेका बाग्लुङ गलकोट नगरपालिका–९ का ३१ वर्षीय सञ्जय विकले पूर्वी नवलपरासीका एक वृद्धको हत्या गरेका छन् ।
उनले २३ चैत २०८२ मा पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१६ मा एक दम्पतीमाथि आक्रमण र लुटपाट गरी भागेका थिए ।
देवचुली नगरपालिका–१६, टाँगीकोट टोल बस्ने ६४ वर्षीय जिनराम थनेत र उनकी श्रीमती ६२ वर्षीया गुलबसनिया थनेतले आक्रमण र लुटपाट गरेको आरोपमा उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी अनिल पण्डितले बताए ।
आक्रमणबाट गम्भीर घाइते भएका जिनराम थनेतको घटनास्थलमा नै मृत्यु भएको थियो भने गुलबसनिया थनेतको नयाँ मेडिकल कलेज चितवनमा उपचार भैरहेको छ ।
घटनापछि फरार रहेका विकलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय नवलपरासीको संयुक्त टोलीले अनुसन्धान गरेर काठमाडौंको सुकेधाराबाट पक्राउ गरेको हो ।
पक्राउ परेका बिकको साथबाट प्रहरीले ३ लाख ७५ हजार नगद, ३ सेट मोबाइल बरामद गरेको छ । प्रहरीका अनुसार विक यसअघि ५ मंसिर २०८० मा एक महिलाको हत्या र लुटपाटमा सम्लग्न आरोपमा पुर्पक्षका लागि कारागारमा थिए । २८ बैशाख २०८१ मा कास्की कारागारमा भएको आन्दोलनका क्रममा विक फरार भएका थिए ।
