९ बजे खुल्ने कार्यालयमा सेवाग्राहीकै अभाव

नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले नागरिक अभ्यस्त नभएकाले यस्तो समस्या आइरहेको बताए । तर सेवाग्राहीका निम्ति एकदमै राम्रो निर्णय भएकाले यसमा अभ्यस्त हुन जरुरी रहेको पनि उनले बताए ।

वैशाख १६, २०८३

सन्तोष महतारा

Lack of service recipients at office that opens at 9 am

What you should know

गुल्मी — केन्द्र सरकारको पछिल्लो निर्णयले सरकारी कार्यालय बिहान ९ बजे नै खुलिसकेका हुन्छन् । समयमै कर्मचारी पनि पुग्छन्, तर सेवाग्राहीको भने अभाव देखिन थालेको छ ।

यहाँको जिल्ला प्रशासन कार्यालयमा केही मात्रामा सेवाग्राही देखिए पनि अन्य कार्यालय भने बिहानको समयमा प्राय: सुनसान देखिन्छन् । साढे ९ बजेको समयमा पनि यहाँका मालपोत र नापीमा सेवाग्राही शून्य छन् । नापी कार्यालयमा त कर्मचारी बाहिर बसेरै सेवाग्राही कुरेका हुन्छन् । यद्यपि १० बजेअगाडि सेवाग्राही आएको कुनै रेकर्ड नरहेको कर्मचारीले बताए ।

मालपोत र नापीभन्दा अगाडि सदरमुकामस्थित रेसुंगा नगरपालिकाको कार्यालयमा पुग्दा पनि सेवाग्राही भेटिएनन् । मंगलबार मात्रै होइन, यसअघिका दिनमा पनि १० बजेअगाडि सेवाग्राही आएका छैनन् । प्रत्यक्ष सेवाग्राही जोडिने यी कार्यालयमा सेवा लिन १० बजेपछि मात्रै सेवाग्राही पुग्छन् । जिल्ला प्रशासन कार्यालयमा औसतमा १५/२० जना सेवाग्राही ९-१० बजेको समयमा आउने गरेका छन् । यसै पनि सदरमुकाम तम्घासमा भित्रिने सवारीसाधन १० बजे आसपासमै बढी हुन्छन् । जसका कारणले पनि सेवाग्राही कार्यालयमा पुग्न पाउँदैनन् ।Lack of service recipients at office that opens at 9 am

मालपोत कार्यालयमा बिहान दैनिक औसतमा १० जना सेवाग्राही आउने गरेका छन् । कार्यालय प्रमुख सूर्यबहादुर सोमैका अनुसार ९ बजेदेखि १० बजेसम्म सेवाग्राही अहिलेसम्म आएकै छैनन् । 'हामी कर्मचारी आएर हाजिर लगाउनेबाहेक केही काम छैन,' उनले भने, 'खाना खाने समय र यातायातका कारणले सेवाग्राही बिहान आउँदैनन् ।' सेवाग्राही साढे १० बजे आसपासमा आउने गरेको उनले बताए ।

मंगलबार बिहान ९ बजेदेखि १० बजेसम्म कार्यालयमा पुग्दा कर्मचारी उपस्थित थिए । जिल्ला प्रशासन कार्यालयबाहेक अन्यत्र कुनै पनि कार्यालयमा सेवाग्राही भेटिएनन् । सेवाग्राहीसँग कमैमात्र जोडिने खानेपानी, कृषि र वन कार्यालयमा पनि सेवाग्राही थिएनन् । यद्यपि, अघिपछि पनि यी लगायतका जिल्लास्थित भेटेरिनरी, शिक्षा र सिँचाइ पूर्वाधार लगायतका कार्यालयमा सेवाग्राही प्रत्यक्ष रूपमा दिनहुँ जोडिनु पर्दैन ।

नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले नागरिक अभ्यस्त नभएकाले यस्तो समस्या आइरहेको बताए । 'टाढाबाट आउने सेवाग्राही यातायातका कारणले ढिलो हुन्छ,' उनले भने, 'नजिकका सेवाग्राहीले सेवा लिइहाल्ने, टाढाबाट आउनेले पनि आउनेबित्तिकै सेवा पाउने हुन्छ ।' सेवाग्राही आएनन् भन्ने कर्मचारीले नसोचेर यसलाई थप प्रभावकारी ढंगले कार्यान्वयन गर्नमा सबैको ध्यान जान जरुरी रहेको उनले बताए । सेवाग्राहीका निम्ति एकदमै राम्रो निर्णय भएकाले यसमा अभ्यस्त हुन जरुरी रहेको पनि उनले बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले सेवाग्राही प्रत्यक्ष रूपमा जोडिने जिल्ला प्रशासन नै भएकाले कार्यालय खुल्ने समयअगाडि नै सेवाग्राही केही मात्रामा आइरहने बताए । अन्यत्र कार्यालयमा नागरिक प्रत्यक्ष कम जोडिने, गाउँबाट आउने यातायातका साधन ढिला आउने, खानाको समय पनि हुने र सेवाग्राही त्यतिधेरै अभ्यस्त भइनसकेका कारण सेवाग्राही कम उपस्थित भएको उनले बताए । 'कर्मचारी कार्यालय समयमै पुगेर सेवा दिन तयार भएका छौं,' उनले भने, 'सेवाग्राही कतै ९ बजे नै आउनुभएको छ, कतै पहिलेको समयमा आउनुहुन्छ ।' जिल्ला प्रशासन कार्यालयले जिल्ला हुलाकमार्फत राहदानी घरमै पुर्‍याउने सेवा पनि दिइरहेको छ ।

सन्तोष

Link copied successfully