गाउँपालिका अध्यक्ष भगत सिंह खड्काको अध्यक्षतामा सोमबार बसेको गाउँसभा बैठकले वडा नम्बर ५ चापटारीमा केन्द्र सर्वसम्मत टुंगो लगाएको गाउँपालिका उपाध्यक्ष तथा प्रवक्ता अधिवक्ता पार्वती कुँवरले जानकारी दिइन् ।
गुल्मी — इस्मा गाउँपालिकाले अन्ततः वडा नम्बर ५, चापटारीमा केन्द्रको टुंगो लगाएको छ । अघिल्लो जनप्रतिनिधिकै कार्यकालमा विवादित बनेर यो मुद्दा सर्वोच्च अदालतसम्म पुगेको थियो ।
केही समयअघि मात्रै सर्वोच्च अदालतले केन्द्र टुंगो लगाउने जिम्मा सम्बन्धित पालिकालाई नै हुने फैसला गरेपछि वर्तमान जनप्रतिनिधिले केन्द्रसम्बन्धी निर्णय अगाडि बढाउने अधिकार पाएका हुन् ।
गाउँपालिका अध्यक्ष भगत सिंह खड्काको अध्यक्षतामा सोमबार बसेको गाउँसभा बैठकले वडा नम्बर ५ चापटारीमा केन्द्र सर्वसम्मत टुंगो लगाएको गाउँपालिका उपाध्यक्ष तथा प्रवक्ता अधिवक्ता पार्वती कुँवरले जानकारी दिइन् । यसअघि कार्यपालिका बैठकले पनि सर्वसम्मत केन्द्र चापटारीमा राख्ने निर्णय गरेको थियो । उनले इस्माका लागि यो ऐतिहासिक निर्णय र उपलब्धि भएको बताइन् ।
पोमप्रसाद भुसालको प्रस्तावमा ढालबहादुर कुँवरले समर्थन जनाएपछि केन्द्रसम्बन्धी निर्णय सर्वसम्मत भएको हो ।
इस्मा गाउँपालिका अध्यक्ष खड्काले चापटारीमा ३५ राेपनीभन्दा बढी जग्गा रहेको स्थानमा अब गाउँपालिकाकाे केन्द्र रहने बताए । 'अघिल्लो जनप्रतिनिधिकै कार्यकालमा विवादित बनेर केन्द्रको मुद्दा अल्झिएकाे थियो,' उनले भने, 'केन्द्र टुंगो लगाउने अन्तिम अधिकार गाउँसभामा आएपछि हामीले टुंगो लगाएका छौं ।'
हाल इस्मा गाउँपालिकाको अस्थायी कार्यालय वडा नम्बर ५ को रजस्थलमा रहेको छ ।
