पाल्पाको तानसेन नगरपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका

तानसेन नगरपालिकाका १४ वटै वडामा सुत्केरी भएका महिलाको तथ्यांक संकलन गरी प्रक्रियाअनुसार पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख झविन्द्र न्यौपानेले जानकारी दिए ।

वैशाख १५, २०८३

माधव अर्याल

Tansen Municipality of Palpa is a municipality with full institutional maternity services.

What you should know

पाल्पा — तानसेन नगरपालिकालाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त तथा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । तानसेन नगरपालिकाका १४ वटै वडामा सुत्केरी भएका महिलाको तथ्यांक संकलन गरी प्रक्रियाअनुसार पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख झविन्द्र न्यौपानेले जानकारी दिए । 

नगरपालिकामा अघिल्लो आर्थिक वर्षमा २ सय ९२ जना सुत्केरी भएकामा प्रोटोकलअनुसार चारपटक गर्भजाँच गराउने महिला शतप्रतिशत, स्वास्थ्य संस्थामा सुत्केरी भएको संख्या शतप्रतिशत रहेको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत चन्द्रतारा बस्यालले बताए । दक्ष प्रसूतिकर्मीद्वारा सुत्केरी गराएको महिलाको संख्या शतप्रतिशत रहेको छ । प्रोटोकलअनुसार तीनपटक सुत्केरी जाँच गराउने पनि शतप्रतिशत रहेको उनले बताए । 

जिल्ला खोप तथा प्रजनन स्वास्थ्य एवं पाल्पा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठ, उपप्रमुख प्रतीक्षा गाहा सिंजाली, स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुकप्रसाद पोखरेल, निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गाबहादुर थापा लगायतले नगरपालिकालाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त तथा पूर्ण खोप सुनिश्चितता घोषणा गरेका हुन् । यसअघि नगरभित्रका सबै १४ वटै वडालाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा घोषणा गरिएको थियो । 

सम्पूर्ण वडाहरू घोषणा गरिसकेपछि स्थानीय तहलाई घोषणाको लागि जिल्लास्थित स्वास्थ्य कार्यालयमा सिफारिस गरेर पठाउनुपर्ने नियम छ । सोही अनुसार जिल्ला प्रजनन स्वास्थ्य समन्वय समितिका प्रतिनिधिले स्थानीय तहको स्थलगत अनुगमनपश्चात् तोकेको मापदण्ड पूरा गरेको प्रमाणीकरण गरी अनुमति प्रदान गरेपछि पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा गर्ने व्यवस्था रहेको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख पोखरेलले जानकारी दिए । 

स्थानीय तहमा रहेको समितिले सुत्केरी संख्याको कम्तीमा १० प्रतिशत घरधुरीको सुलभ सर्वेक्षण गरी तोकेअनुसार मापदण्ड पुगेको सिफारिस गर्नुपर्छ । मापदण्ड पूरा भएको अवस्थामा सम्बन्धित वडालाई पूर्ण संस्थागत प्रसुति सेवायुक्त वडा भएको प्रमाणपत्र प्रदान गरिएको हुन्छ । त्यसपछि मात्र स्थानीय तहलाई सुनिश्चित भएको घोषणा गरिने स्वास्थ्य कार्यालयका वरिष्ठ अधिकृत विश्वनाथ न्यौपानेले बताए ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully