दुवै हात नचल्ने भए पनि खुट्टाको सहायताले लेखेर कक्षा ५ उत्तीर्ण गरेका रोल्पाका सन्देश बुढा मगरलाई अब शिवम् सिमेन्टले काठमाडौंमा राखेर माध्यमिक तहसम्म नि:शुल्क पढाइदिने भएको छ ।
What you should know
रोल्पा — दुवै हात नचल्ने भए पनि खुट्टाको सहायताले लेखेर अध्ययन गरिरहेका रोल्पाका सन्देश बुढा मगरले अब काठमाडौमा पढ्ने अवसर पाएका छन्।
उनको संघर्षपूर्ण समाचार कान्तिपुरमा प्रकाशन भएपछि उनको शैक्षिक यात्राले नयाँ मोड लिएको हो । कान्तिपुरमा गत चैत ११ गते 'खुट्टाले लेखेर परीक्षा दिँदै सन्देश' शीर्षक समाचार प्रकाशन भएपछि शिवम् सिमेन्ट लिमिटेडले उनको माध्यमिक तहसम्मको सम्पूर्ण अध्ययनको जिम्मा लिएको हो ।
शिवम् सिमेन्टका मार्केटिङ डेपुटी जनरल म्यानेजर केशव अर्यालले सन्देशलाई रोल्पा आएर काठमाडौं लैजाने व्यवस्था मिलाएका थिए । उनका अनुसार सन्देशको उपचारमा समेत प्रयास गरिनेछ। विशेषज्ञ चिकित्सकलाई भेटेर सन्देशको स्वास्थ्य अवस्थाबारे परामर्श गरिने अर्यालले बताए ।
रोल्पा नगरपालिका–१०, धाङसी निवासी १२ वर्षीय सन्देशको आर्थिक अवस्था कमजोर भएको र थप अध्ययनका लागि अपाङ्गमैत्री विद्यालयको अभाव रहेको समाचारबाट थाहा पाएपछि कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत यो पहल गरेको हो । जन्मजात दुवै हात नचल्ने भए पनि सन्देशले खुट्टाकै भरमा लेखेर स्थानीय धबाङ प्राविबाट कक्षा ५ उत्तीर्ण गरेका थिए ।
शिवम् सिमेन्टले सन्देशको माध्यमिक तहसम्मको अध्ययनलाई निरन्तरता दिन काठमाडौँको जोरपाटीस्थित खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयसँग समन्वय गरेको छ । सन्देशको आवास, हेरचाह र शिक्षाका लागि लाग्ने अर्धवार्षिक खर्च अपाङ्ग नवजीवन केन्द्रलाई कम्पनीले नै उपलब्ध गराउने भएको छ । अपांगता भएका विद्यार्थीले थप पढ्ने र उपचार गर्ने मौका पाएकामा प्रधानाध्यापक जयनसिं बुढा मगरले खुशी व्यक्त गरे ।
'समाजका हरेक वर्गको विकासमा साथ दिने हाम्रो लक्ष्यअनुरूप विशेष क्षमता भएका बालकलाई गुणस्तरीय शिक्षाको अवसर प्रदान गर्न पाउँदा हामी गौरवान्वित छौँ,' कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'शिक्षा नै सशक्त भविष्यको आधार हो र सन्देशजस्ता प्रतिभावान बालकलाई प्रोत्साहन दिनु हाम्रो कर्तव्य हो ।' शिवम् सिमेन्टका प्रतिनिधि सन्देशलाई लिन उनको घरमै पुगे भने कमजोर आर्थिक अवस्थाका बारेमा समेत अध्ययन गरे।
सुरुमा सन्देशको कारुणिक भिडियो स्थानीय शिक्षक खिम बुढा मगरले खिचेका थिए। त्यसलगत्तै कान्तिपुरलगायत विभिन्न सञ्चारमाध्यमबाट उनीबारेका समाचार सार्वजनिक भएका थिए। उनप्रति विश्वभरका नेपाली र परोपकारी संस्थाको पनि ध्यानाकर्षण भएको थियो । उनलाई सहयोग जुटाउन पत्रकार, बुद्धिजीवी र समाजसेवीहरूले निरन्तर पहल गरिरहेका थिए । समाचार प्रभावकै कारण एउटा प्रतिभावान् बालकले अब काठमाडौँको व्यवस्थित वातावरणमा पढ्न पाउने भएपछि परिवार र स्थानीयमा खुसीयाली छाएको छ । सन्देशका बुबा रामुले अब आफ्नो अपांगता भएको छोराले पढ्ने, उपचार गराउने र उचित हेरचाह पाउने बताए ।
यसअघि सन्देशले खुट्टाकै औँलाको सहाराले उत्तरपुस्तिकामा अक्षर भरेको दृश्यले धेरैलाई भावुक बनाएको थियो । शिवम् सिमेन्टको यो सहयोगले उनको संघर्षपूर्ण जीवनमा ठूलो राहत पुग्ने र भविष्यमा केही बन्ने सपना साकार हुने विश्वास लिइएको छ ।
