पूर्वविद्यार्थी, शिक्षक र अभिभावकबाट रकम संकलन गरेर सत्यवती माविमा स्कुल बस संचालन

विद्यालयको सेवा क्षेत्र ठूलो रहेको र विगत दुई वर्षदेखि माग भइरहेकाले स्कुल बस संचालनमा ल्याइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलबहादुर क्षेत्रीले बताए ।

वैशाख १५, २०८३

सन्तोष महतारा

School bus operation at Satyawati Secondary School by collecting funds from alumni, teachers, and parents

What you should know

गुल्मी — यहाँको एक माध्यमिक विद्यालयले नगद संकलन गरेरै स्कुल बस संचालनमा ल्याएको छ । सत्यवती गाउँपालिका-५ हँसरास्थित सत्यवती माध्यमिक विद्यालयले यस शैक्षिक सत्रदेखि स्कुल बस संचालन गरेको हो ।

पूर्वविद्यार्थी, शिक्षक र अभिभावकबाटै रकम संकलन गरेर स्कुल बस संचालनमा ल्याएको प्रधानाध्यापक कृष्णप्रसाद भण्डारीले बताए । उल्लिखोलादेखि खैरेनीबजार हुँदै साहाघाटसम्मका विद्यार्थीले स्कुल बसबाट प्रत्यक्ष लाभ लिन पाउनेछन् ।

अभिभावक र विद्यार्थीको आवश्यकता महसुस गरेर संचालनमा ल्याइएको स्कुल बसबाट सुरुवाती चरणमा १ सय २० जना विद्यार्थी लाभान्वित हुनेछन् ।

कुल २० लाख रुपैयाँमा खरिद गरिएको बस संचालनमा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षकहरू र पूर्वविद्यार्थीबाट सहयोग भएको छ । यद्यपि हालसम्म ६ लाख रुपैयाँ मात्रै सहयोग जम्मा भएको प्रधानाध्यापक भण्डारीले बताए ।

विद्यार्थी कल्याणकारी कोषमा रकम जम्मा गरिरहेको उनले बताए । सोमबार सत्यवती गाउँपालिका अध्यक्ष टीकाराम पाण्डेले स्कुल बसको उद्घाटन गरेका छन् । उनले स्थानीय समुदाय नै जुटेर स्कुल बस संचालन गरेको बताउँदै आगामी बजेटमा थोरै भए पनि सहयोग गर्ने आश्वासन दिएका छन् ।

विद्यालयमा गत वर्ष ५ सय २७ जना विद्यार्थी रहेकामा अहिले ५ सय ५० विद्यार्थी पुग्ने  अनुमान छ । यो विद्यालय नर्सरीदेखि कक्षा १२ सम्म संचालन भइरहेको छ ।

विद्यालयको सेवा क्षेत्र ठूलो रहेको र विगत दुई वर्षदेखि माग भइरहेकाले स्कुल बस संचालनमा ल्याइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलबहादुर क्षेत्रीले बताए । गाउँपालिकाको केन्द्रको विद्यालय भएकाले सेवा क्षेत्र ठूलो हुँदा स्कुल बसको माग भइरहेकाले संचालनमा ल्याएको उनको भनाइ छ । भारतीय दूतावासबाट पहल गर्दा बस ल्याउन नसकेपछि आफैं जुटेर स्कुल बस संचालन गरेको उनले बताए ।

सन्तोष

Link copied successfully