जीवितै व्यक्तिको  मृत्युदर्ता गर्ने वडाध्यक्ष र सचिवसहित चार जना पक्राउ

जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरदत्त पन्तका अनुसार सुस्ता गाउँपालिका-५ का वडाध्यक्ष प्रभुनाथ अहिर, वडासचिव संजयकुमार चौधरीलाई मंगलबार पक्राउ गरिएको हो भने तारिख मियाँ अन्सारी र छोटे खाँ यसअगाडि नै पक्राउ परेका हुन् ।

वैशाख १५, २०८३

नवीन पौडेल

Four people, including ward chair and secretary, arrested for registering a death of a living person

पश्चिम नवलपरासी — जीवितै व्यक्तिको मृत्युदर्ता गराएको आरोपमा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५ का वडाध्यक्ष र सचिवसहित चार जना पक्राउ परेका छन् ।

सुस्ता गाउँपालिका-५ बस्ने तारिख मियाँ अन्सारीले आफ्नो जन्मदर्ताको प्रतिलिपिमा बाबुको नामथर 'जमालुद्दिन अन्सारी' रहेकामा त्यसलाई सच्याएर 'जमालुद्दिन मुसलमान' बनाइ प्रतिलिपि लिएको र सोही नागरिकताका आधारमा छिमेकी ६६ वर्षका जमालुद्दिन मुसलमानको मृत्यु दर्ता गरेको खुलेको छ ।

तारिख मियाँले  जीवित व्यक्तिको नागरिकता संलग्न गरेर आफ्नो जन्मदर्ताको प्रतिलिपि र मृत्युदर्ताका लागि २०८२ कात्तिक २३ गते वडा कार्यालयमा निवदेन दिएका थिए ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरदत्त पन्तका अनुसार  सुस्ता गाउँपालिका-५ का  वडाध्यक्ष प्रभुनाथ अहिर, वडासचिव संजयकुमार चौधरीलाई मंगलबार पक्राउ गरिएको हो भने तारिख मियाँ अन्सारी र छोटे खाँ यसअगाडि नै पक्राउ परिसकेका छन् । नक्कली कागजपत्र बनाउन साक्षी बस्ने र सघाउने थप ८ जना फरार छन् । 

पक्राउ परेका चारै जनालाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ को परिच्छेद ६ को दफा ४१ (ग) र (च) बमोजिमको कसुरमा  अनुसन्धान अगाडि बढाइएको छ। 

जीवित व्यक्तिको मृत्युदर्ता बनाउने क्रममा तारिख मियाँले जनप्रतिनिधि र कर्मचारीसँग मिलेर बनाएको खुलेको छ ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully