मुख्यमन्त्री आचार्यद्वारा पुरातात्विक सम्पदा संरक्षणको प्रतिबद्धता

केही समयअघि पुरातत्व विभागले यस क्षेत्रमा गरेको उत्खननका क्रममा महत्त्वपूर्ण पुरातात्विक सामग्रीहरू फेला परेका थिए । थारू राजा दंगीशरण सुकौरा दरबार सभ्यता कोष समितिको पहलमा उत्खननका क्रममा भेटिएका सामग्री सार्वजनिक गरिएका थिए ।

वैशाख १४, २०८३

दुर्गालाल केसी

Chief Minister Acharya commits to preserving archaeological heritage

What you should know

दाङ — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पुरातात्विक सम्पदाहरूको संरक्षण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । तुलसीपुर उपमहानगरपालिका–११ सुकौराकोटस्थित थारू राजा दंगीशरण दरबार क्षेत्रको सोमबार अनुगमनका क्रममा मुख्यमन्त्री आचार्यले यी सम्पदालाई जोगाएर भावी पुस्तासम्म हस्तान्तरण गर्न आवश्यक रहेको बताएका हुन् ।

आचार्यले प्रदेश सरकार पुरातात्विक सम्पदाको संरक्षणसँगै त्यसको प्रवर्द्धन र पर्यटनसँग जोड्ने योजनामा अघि बढेको जानकारी दिए । उनले आवश्यक पूर्वाधार विकास, संरक्षणका वैज्ञानिक उपाय अवलम्वन तथा प्रचारप्रसारमार्फत दंगीशरण दरबार क्षेत्रलाई महत्त्वपूर्ण पर्यटकीय केन्द्रका रूपमा विकास गरिने आश्वासन दिए ।

अनुगमनमा मुख्यमन्त्री आचार्यसहित पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी, भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्का लगायतको सहभागिता थियो ।

अनुगमन टोलीले दरबार क्षेत्रको वर्तमान अवस्था, उत्खननको प्रगति तथा संरक्षणका आवश्यक पक्षबारे स्थलगत जानकारी लिएको थियो । केही समयअघि पुरातत्व विभागले यस क्षेत्रमा गरेको उत्खननका क्रममा महत्त्वपूर्ण पुरातात्विक सामग्रीहरू फेला परेका थिए । थारू राजा दंगीशरण सुकौरा दरबार सभ्यता कोष समितिको पहलमा उत्खननका क्रममा भेटिएका सामग्री सार्वजनिक गरिएका थिए ।

उत्खननबाट लिच्छविकालीन इँटादेखि थारू समुदायले पूजाआजा गर्दै आएको माटोको घोडाको आकृति, महिलाले लगाउने चुरा, धनुषका तीर, फलाम तथा तामाका औंठी, माटोका दियो, घैटौं लगायतका सामग्री फेला परेका छन् ।

दरबार क्षेत्रमा यसअघि २०६३ र २०७१ सालमा उत्खनन गरिसकिएको थियो भने हाल तेस्रो चरणको उत्खनन सम्पन्न गरिएको हो । स्थानीय सरोकारवालाहरूले यस क्षेत्रलाई ऐतिहासिक तथा सांस्कृतिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न माग गर्दै आएका छन् ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully