सिद्धार्थ उद्योग वाणिज्य संघमा आयोजित राजस्व चुहावट सम्बन्धी अन्तरक्रियामा सहभागी व्यवसायीले सुरक्षा र प्रशासनिक निकायको मिलोमतो बिना संगठित रुपमा तस्करी सम्भव नहुने दाबी गरेका छन् ।
What you should know
भैरहवा — खुल्ला सीमानाका कारण भन्सार छलेर हुने राजस्व चुहावट नियन्त्रण गर्न करको दर कम गर्नुपर्ने सुझाव भैरहवा क्षेत्रका व्यवसायीको छ ।
भारतसँगको खुल्ला सीमानालाई नियन्त्रण गर्न नसक्दा भारतबाट भन्सार नतिरी व्यवसायिक प्रयोजनकै लागि तस्करीको माध्यमबाट मालसामान भित्रिने गरेको छ । सुरक्षा र प्रशासनिक निकायको मिलोमतो बिना संगठित रुपमा तस्करी सम्भव नहुने दाबी पनि व्यवसायीले गरेका छन् ।
सिद्धार्थ उद्योग वाणिज्य संघमा आयोजित राजस्व चुहावट सम्बन्धी अन्तरक्रियामा सहभागी व्यवसायीले भारतबाट आयात गरिने बस्तुमा निर्धारण गरिएको कर उच्च हुँदा नेपालमा त्यसखालका बस्तुको मूल्य धेरै महंगो पर्ने भएपछि तस्करी भएर राजस्व चुहावट हुने गरेको बताए । भारतबाट आयात हुने मालबस्तुको कर धेरै हुँदा अवैध कारोबारले प्रोत्साहित हुने मौका पाउने गरेको र यसबाट ठूलो परिमाणमा राजस्व चुहावट हुने गरेको व्यवसायीको भनाइ छ ।
उद्योग वाणिज्य महासंघका लुम्बिनी प्रदेश अध्यक्ष ठाकुरकुमार श्रेष्ठले राजस्व चुहावट नियन्त्रण गर्न भन्सारलगायतका करको दर कम गर्नुपर्ने बताए । ‘भन्सार गर्दा लगाइने विभिन्न करका कारण त्यस बस्तुको मूल्य नेपाल र भारतीय बजारमा धेरै फरक नपर्ने गरी निर्धारण गरिनु पर्छ,’ श्रेष्ठले भने, ‘राजस्व चुहावट कम गरी बढी राजस्व असुली गर्न करको दर घटाएर दायरा बढाइनु पर्छ ।’ करको दायरा बढाउन निजी क्षेत्रले सरकारलाई सघाएर सहकार्य गर्न तयार रहेको उनले बताए ।
सुरक्षा निकायको सहमति बिना एउटा चकलेट पनि बिना भन्सार छिर्न नसक्ने दाबी उनले गरे ।
सिद्धार्थ चामल उद्योग भलबारीका सञ्चालक चन्द्रमान श्रेष्ठले भन्सार दर समायोजन गर्न जरुरी रहेको बताए । ‘कुनै बस्तु नेपालमा आयात गर्नका लागि हतोत्साहित गर्न परेमा बल्ल त्यस बस्तुको आयातमा उच्च कर लगाउने हो,’ उनले भने, ‘अन्यथा मूल भन्सार नाकाहरुमा कडाइ त होला तर यति धेरै लामो खुल्ला सीमाना पूर्ण नियन्त्रण गर्न कसरी सम्भव छ ?’ नेपालमा राजस्व उठाउने नापी, यातायात, ट्राफिक, मालपोतलगायतका धेरै कार्यालय भए पनि सेवाप्रवाह र सुशासनमा कमजोर रहेको उनले बताए ।
सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विष्णु शर्माले भन्सार तिरेर बैध कारोबार गर्नुपर्दा दर्जनौं निकायसँग समन्वय गर्नुपर्ने झन्झट हुने तर तस्करले भन्सार नगरी सिधैं मालसामान छिराउने गरेको बताए । ‘भन्सार तथ्याकंमा तयारी पोशाकको आयात भएको देखिँदैन, तर बजारभरि बिदेशी कपडा छन्,’ शर्माले भने ।
संघका बरिष्ठ उपाध्यक्ष दिलीप कान्दुले सुरक्षा निकायकै मिलोमतोमा तस्करी हुने गरेको तथ्यलाई कसैले पनि नकार्न नसक्ने बताए । भन्सार विभागका उपमहानिर्देशक भरतमणि पाण्डेको संयोजकत्वमा राजश्व अनुसन्धान बिभाग, आन्तरिक राजश्व विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रतिनिधिसहितको टोलीले आर्थिक वर्ष २०८३/०८४ का लागि तयार पारिने बजेटबारे स्थानीय व्यवसायीको सुझाव संकलन गरेको हो । सिमेन्ट तथा खाद्य व्यवसायी ऋषिकेश अग्रवालले बढी राजस्व चुहावट हुने गरेको बस्तु पत्ता लगाएर त्यही अनुरुपको नीति बनाउनु पर्ने बताए ।
