डिभिजन वन कार्यालयका सहायक वन अधिकृत रामगोपाल चौधरीले अटेरी गरे अतिक्रमित जग्गा खाली गराउन लागेको खर्च र वन ऐन २०७६ ले तोके अनुसारको सजाय दुवै हुने बताए ।
बर्दिया — अतिक्रमित वन क्षेत्र १५ दिनभित्र खाली गर्न डिभिजन वन कार्यालयले सूचना सार्वजनिक गरेको छ ।
सोमबार जारी गरेको सूचनामा वनको क्षेत्रभित्र रहेका कोठियाघाट, माचडचोक, गुलरियाको संगम बस्ती, बारबर्दियाको खुरखुरेफाँटा, रामबस्ती, अमर महिला सामुदायिक वनलगायतका स्थान र अन्य सामुदायिक वन क्षेत्रमा अनधिकृत रुपमा अतिक्रमण गरी बनाएका घरटहरा हटाउन उल्लेख गरिएको छ ।
डिभिजन वन कार्यालयका सहायक वन अधिकृत रामगोपाल चौधरीले अटेरी गरे अतिक्रमित जग्गा खाली गराउन लागेको खर्च र वन ऐन २०७६ ले तोके अनुसारको सजाय दुवै हुने बताए ।
वन क्षेत्र अतित्रमण गरी प्रहरी कार्यालय, क्याम्पस, विद्यालय, रेडक्रसलगायत संस्था र भाडाका पसललगायत बजार सञ्चालन गरिएको छ । डिभिजनल वन अधिकृत विजयराज सुवेदीले जिल्लाभर करिब एक हजार हेक्टर वन क्षेत्र अतित्रमण गरिएको बताए ।
पहिलो चरणमा माचड र कोठियाघाटको अतिक्रमण हटाउने तयारी भइरहेको सुवेदीले बताए । डिभिजन वन कार्यालयका अनुसार विगतमा अतिक्रमित वन क्षेत्रमा ग्राभेल, कालोपत्र सडक, विद्युतीकरणलगायत संरचना बनाइएको छ । मधुवन नगरपालिकाको बेलवा चोकस्थित सामुदायिक वन अतिक्रमण गरेर भौतिक संरचना निर्माण गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।
सप्तीदेवी सामुदायिक वन बासगढीसहित मधुवन नगरपालिकाको बेलवा चोकमा रहेको वन क्षेत्रमा रेडक्रस भवन, पक्की भाडाका भवन, ओराली बजारस्थित वन क्षेत्रमा बनाइएका आठ वटा पक्की भवन अतिक्रमित क्षेत्रमा निर्माण भएको वन कार्यालयले जनाएको छ । सामुदायिक वनमा कार्यालय सञ्चालन तथा सुरक्षाका लागि कच्ची भवनबाहेक पक्की संचरना निर्माण गर्न नपाउने ऐनमा व्यवस्था छ ।
