हातहातमा सामाजिक सुरक्षा भत्ता पाउँदा ज्येष्ठ नागरिक र अशक्तलाई सहज

रामपुर नगरपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरेपछि दुर्गम वडाका ज्येष्ठ नागरिक, एकल, दलित, अशक्त र अपांगता भएकाहरू खुसी भएका छन् ।

वैशाख १३, २०८३

माधव अर्याल

Senior citizens and the disabled will benefit from receiving social security allowances in their hands.

What you should know

पाल्पा — पाल्पाको रामपुर नगरपालिका–९, अर्भसिङ मन्छेलुङका थानबहादुर पाटाले वडाबाटै सामाजिक सुरक्षा भत्ता पाएकामा खुसी छन् । उनलाई रामपुर पुगेर भत्ता लिनुपर्दा अतिरिक्त खर्च हुन्थ्यो । गाउँमै भत्ता बुझ्न पैदलै हिँडेर आएको उनले बताए । 

‘रामपुर जानुपर्दा एक हजारभन्दा बढी खर्च हुन्थ्यो,’ उनले भने, ‘भत्ताको पैसा वडा कार्यालयबाट वितरण हुँदा त्यो खर्च जोगिएको छ ।’ रामपुर नगरपालिका–९, जब्गादीकी भिमिसरा नेपाली पनि वडाबाटै सामाजिक सुरक्षा भत्ता बुझ्न पाएकामा रामपुर पुग्ने गाडीभाडा, नास्ता, खाना खर्च सबै जोगिएको बताइन् । 

आफ्नै सामाजिक सुरक्षा भत्ता लिनका लागि सवारी साधनमार्फत रामपुरको बेझाड बजार पुग्नुपर्ने उनले बताइन् । उनका अनुसार आउजाउ गर्दा हरेक पटक कम्तीमा हजार रुपैयाँ खर्च हुने गर्दथ्यो । ‘रामपुर जाँदा लाग्ने खर्च जोगिएको छ,’ उनले भनिन्, ‘मलाई धेरै ठूलो सहयोग भएजस्तो लागेको छ ।’ 

पाटा र नेपाली मात्र होइन, ज्येष्ठ नागरिकले सास्ती खेप्नु परे पनि अहिले वडा कार्यालयबाटै भत्ता बुझ्न पाउँदा सजिलो भएको बताएका छन् । ‘घरकै खाना खाएर घर नजिकैबाट भत्ता बुझ्न पाउँदा गाडी भाडा र खाजा खर्चसँगै समयको पनि बचत भएको छ,’ वडाबाटै सामाजिक सुरक्षा भत्ता बुझेकी नेपालीले भनिन् । Senior citizens and the disabled will benefit from receiving social security allowances in their hands.

रामपुर नगरपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरेपछि दुर्गम वडाका ज्येष्ठ नागरिक, ज्येष्ठ नागरिक एकल, ज्येष्ठ नागरिक दलित, असक्त, अपांगता भएकाहरू खुसी भएका हुन् । 

नगरपालिकाले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था गरेको छ । तर कतिपय वडावासीका लागि बैंकको पहुँच भौगोलिक रुपमा टाढा छ । दुर्गम वडाका लाभग्राहीको सुविधाका लागि वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको नगर प्रमुख रमणबहादुर थापाले बताए । पालिकाले नगरभित्र रहेका विभिन्न बैंकहरूसँगको सहकार्यमा प्रत्येक त्रैमासिक रुपमा भत्ता वितरण गर्दै आएको उनले बताए । रामपुर नगरपालिकाले वडा नम्बर १ र २ गाडाकोट, ९ को जब्गादी, १० को गेझाका नागरिकको सुविधाका लागि वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको उनले बताए । 

भत्ता वितरणसहित सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीका लागि राष्ट्रिय परिचयपत्रमार्फत बायोमेट्रिक भेरिफिकेसन सेवासमेत वडाबाटै दिइएको छ । वडा नम्बर ९ मा राखिएको शिविरमा १ सय ८२ जना लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो । साथै वडा कार्यालयमा भएको शिविरमा १ सय ४१ जनाको बायोमेट्रिक भेरिफिकेसन गरेको रामपुर नगरपालिकाका पञ्जीकरण शाखा प्रमुख प्रतिमा घिमिरेले बताइन् ।

शिविरमा १ सय ८ जना ज्येष्ठ नागरिक, ४ जना दलित ज्येष्ठ नागरिक, २० जना ज्येष्ठ नागरिक एकल, ६ जना एकल महिला र ३ जना अति अशक्त नागरिकको बायोमेट्रिक भेरिफिकेसन गरिएको वडासचिव चिन्तामणि भण्डारीले बताए ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully