गौतम बुद्धले प्रतिपादन गरेको दया, करुणा र मानवीय सेवामा आधारित रहेर विश्वका १ सय ३९ राष्ट्रमा आफ्नो संस्था कार्यरत रहेको र यसै सिलसिलामा लुम्बिनी पनि आफ्नो रोजाइमा परेको संस्थाको दाबी ।
What you should know
भैरहवा — अन्तर्राष्ट्रिय स्वयंसेवी संस्था चुजी फाउन्डेसनले बुद्ध जन्मस्थल लुम्बिनीमा ‘चुजी लुम्बिनी क्याम्पस’ सञ्चालनको तयारी पूरा गरेको जनाएको छ । शिक्षा, स्वास्थ्य, सञ्चार र सामुदायिक सेवाको माध्यमबाट लुम्बिनीको समुदायस्तरमा जोडिन यो काम गरेको उसले जानकारी दिएको छ ।
गौतम बुद्धले प्रतिपादन गरेको दया, करुणा र मानवीय सेवामा आधारित रहेर विश्वका १ सय ३९ राष्ट्रमा आफ्नो संस्था कार्यरत रहेको र यसै सिलसिलामा लुम्बिनी पनि आफ्नो रोजाइमा परेको संस्थाको दाबी छ ।
चुजी फाउन्डेसनले शनिबार लुम्बिनीमा स्थानीय समुदायसँग अन्तर्क्रिया गर्दै चुजी लुम्बिनी क्याम्पस उद्यानको आउँदो वैशाख २० गते उद्घाटन गरिने जानकारी गराएको हो । क्याम्पस परिसरमा स्थानीय समुदायलाई विभिन्न सेवा प्रदान गर्न अस्पताल, सीप तालिम केन्द्र, सञ्चार र सामुदायिक भवन रहेका छन् ।
ताइवानमा मुख्यालय रहेको फाउन्डेसनकी उपाध्यक्ष लिनले दया, करुणा र मानवीय सहयोगका काममार्फत बुद्धभूमिमा नेपाली समुदायसँग सहकार्य गर्दै पारस्परिक सहयोगको भावनालाई पुस्तौंसम्मका लागि गहिरो रूपमा स्थापित गर्ने उद्देश्य रहेको बताइन् ।
चुजी फाउन्डेसनले २०७२ सालमा गएको भूकम्पमा घरवारविहीन १ हजार ८ सय परिवारलाई घर निर्माणसहित विदेशी चिकित्सक ल्याएर स्वास्थ्य उपचार प्रदान गरेको थियो । कोभिडको बेलामा १० वटा विमान चार्टर गरेर औषधिसहित स्वास्थ्य उपचार सामग्री उपलब्ध गराएको थियो ।
फाउन्डेसले सन् २०२२ देखि आफ्ना स्वयंसेवकहरूमार्फत लुम्बिनी, कपिलवस्तु र काठमाडौंलगायत क्षेत्रमा शिक्षा, स्वास्थ्य, विपन्न समुदायलाई सहयोग, सीप विकास तथा सामुदायिक सेवाका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
चुजी लुम्बिनी क्याम्पस उद्यानअन्तर्गत हाल लुम्बिनी बुद्धिष्ट चुजी स्कुलले किन्डरगार्टनदेखि २ कक्षासम्मको पहिलो शैक्षिक सत्र सुरु गरिसकेको र विद्यालयलाई १२ कक्षासम्म क्रमशः विस्तार गर्दै लैजाने योजना रहेको फाउन्डेसनका स्वयंसेवक राकेश त्रिपाठीले बताए । ‘दीर्घकालमा प्राविधिक शिक्षालय र विश्वविद्यालय स्थापना गर्ने लक्ष्य पनि राखिएको छ,’ उनले भने ।
फाउन्डेसनमार्फत नेपालको स्वास्थ्य सेवा हेर्ने डा.निर्देश शाक्यले लुम्बिनीमा स्वास्थ्य क्लिनिकको सुरुवातसँगै ३ सय बेडको अस्पताल सञ्चालन गर्ने योजना रहेको बताए ।
सन् १९६६ मा ताइवानकी बौद्ध धर्मावलम्बी महिला चेंग येनले ताइवानबाट दैनिक ५० पैसा खुत्रुकेमा जम्मा गर्ने अभियानसहित यो संस्थाको सुरुवात गरी परोपकार, स्वास्थ्य, शिक्षा, मानवतावादी संस्कृतिका क्षेत्रमा काम गर्ने गरी विश्वव्यापी रूपमा विस्तार गरेकी थिइन् ।
