ढाकावाङ पनि मौरीपालनको सम्भावित क्षेत्र भएकाले मौरी पकेट कार्यक्रमअन्तर्गत सहकारीलाई मौरी वितरण गरेको हो । पहिला रित्ता घार वितरण हुन्थे ।
What you should know
अर्घाखाँची — भूमिकास्थान नगरपालिकाले मौरीपालन गरी मह उत्पादन गर्ने जिम्मा कृषक सहकारी संस्थालाई दिएको छ । वडा नम्बर १ र २ को ढाकावाङमा रहेको प्रगति कृषक सहकारी संस्थालाई ४७ थान मौरीसहितका घार र सामग्री उपलब्ध गराएको हो ।
नगरले वडा ९ को ढिकुरा, १० को धनचौर लगायत सम्भावित क्षेत्रलाई मौरी पकेट क्षेत्रको घोषणा गरी कृषकलाई मौरीपालन वृद्धि गर्न विभिन्न घार वितरणदेखि प्राविधिक सहयोग गर्दै आएको छ ।
ढाकावाङ पनि मौरीपालनको सम्भावित क्षेत्र भएकाले मौरी पकेट कार्यक्रमअन्तर्गत सहकारीलाई मौरी वितरण गरेको हो । पहिला रित्ता घार वितरण हुन्थे ।
त्यसो गर्दा घारमा मौरी नहुँदा खाली रहने र खेर गएकाले सहकारी समूहलाई मौरीसहित मौरीजन्य सामग्री वितरण गरिएको नगर उपप्रमुख बालकृष्ण बञ्जाडेले बताए । ४७ घार मौरी पाल्पाबाट ल्याइएको उनले बताए । मौरीपालनबाट घरखर्च चल्ने आम्दानी गर्न सक्ने भएकाले राम्रोसँग मौरी पाल्न बञ्जाडेले कृषकलाई सुझाव दिए ।
सहकारीमा आबद्ध भएका सबै कृषकको घरमा मौरीपालनलाई व्यवसायकै रूपमा अगाडि बढाउनुपर्ने बताए । नगरपालिकाले घरमै पुगेर कृषि प्राविधिकले सहयोग पुर्याउने उनले बताए । मौरी वितरण गरिएको ढाकावाङ मौरीपालन क्षेत्र भएकाले यहाँ पकेट क्षेत्रका रूपमा विस्तार गरी सबैका घरबाट मह उत्पादन गरेर स्थानीयलाई आत्मनिर्भर बनाउने नगरको लक्ष्य रहेको बञ्जाडेले बताए ।
५ लाख ८८ हजार ७ सय ३७ रुपैयाँ कुल लागत बजेटमध्ये २ लाख ९९ हजार ३ सय ६० रुपैयाँ नगरपालिकाको अनुदान रहेको छ भने अरु रकम सहकारीको लगानी रहेको सहकारीका अध्यक्ष भुवानन्द भुसालले बताए । यहाँ वन क्षेत्र धेरै रहेको र जंगलमा चिउरी, म्याल लगायत फूल फुल्ने रुख पर्याप्त भएकाले मौरीपालन फस्टाउने उनले बताए ।
‘अहिले ४७ घार नगरपालिकाको सहयोगमा हामीले पाएका छौं,’ उनले भने, ‘मह उत्पादनसँगै घार बढाएर गाउँभर पुर्याउँछौं । ढाकावाङलाई मौरी केन्द्रका रूपमा विकास गरेर लैजान्छौं ।’
सहकारीमा आबद्ध कृषकलाई तानसेन नगरपालिका–७ बगनासकालीमा रहेको वंशगोपाल मौरी पालन फार्मका सञ्चालक पशुपति न्यौपानेले मौरी पाल्ने तरिका, मौरी जोगाउने उपाय, मह उत्पादन गर्ने लगायतको तरिकाबारे प्रशिक्षण दिएका थिए । गाउँलेले यसरी मौरीसहितका घार र सबै सामग्री पाएपछि उत्साहित भएको स्थानीय युवा टेकराज भुसालले बताए ।
