विकास निर्माणमा दररेट संशोधन गर्न पालिका प्रमुखहरूको माग 

मुल्यवृद्धिका कारण व्यवसायीहरूले टेन्डर नै नहाल्ने र भैरहेको काम पनि रोकेको पालिका प्रमुखहरूको गुनासो छ ।

वैशाख १३, २०८३

नवीन पौडेल

Municipal heads demand revision of rates for development projects

परासी — बढ्दो महंगी, पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण निर्माण व्यवसायीले विकास निर्माणमा ढिलाइ गरेको भन्दै पश्चिम नवलपरासीका स्थानीय तह प्रमुखहरूले जिल्ला दररेट संशोधन गर्नुपर्ने माग गरेका छन् ।

सदरमुकाम परासीमा जिल्लाका सातवटै स्थानीय तहका प्रमुखले आज पत्रकार सम्मेलन आयोजना गरी दररेट संशोधन गर्न माग राखेका हुन् । जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारीलगायतका माध्यमबाट संघीय सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । 

मुल्यवृद्धिका कारण व्यवसायीहरूले टेन्डर नै नहाल्ने र भैरहेको काम पनि रोकेको पालिका प्रमुखहरूको गुनासो छ । 

जिल्ला दररेट संशोधन नगरे जिल्लाभरका विकास निर्माण प्रभावित हुने रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले बताए । 

यही अवस्थामा विकास निर्माणको काम अगाडि नबढ्ने र रकम फ्रिज हुने अवस्था आउने पालिका प्रमुखले चिन्ता व्यक्त गरे । 

यसै गरेर पत्रकार सम्मेलनमा सहभागी जनप्रतिनिधिहरूले भारतीय नाकामा एक सय रुपैयााभन्दा बढीका सामानमा भन्सार लाग्ने नीति परिवर्तन गर्न शिक्षामा स्थानीय तहको अधिकारमा हस्तक्षेप नगर्न र  समयमा नै रासायनिक मलको आपूर्ति गर्न केन्द्र सरकार समक्ष माग गरेका छन् ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully