बाँकेका १२ सामुदायिक वनमा डढेलो, ४ हजार हेक्टर क्षेत्रफल प्रभावित

वन डढेलोका कारण वन्यजन्तुको बासस्थानसमेत संकटमा पर्न थालेको छ ।

वैशाख १३, २०८३

रासस

Fire breaks out in 12 community forests in Banke, affecting 4,000 hectares of land

नेपालगन्ज — बाँकेका दुई चक्ला वनसहित विभिन्न सामुदायिक वनमा डढेलो सुरु भएको छ । वन डढेलोका कारण वन्यजन्तुको बासस्थान सङ्कटमा पर्न थालेको जिल्ला वन डिभिजन कार्यालयले जनाएको छ । 

एक सातायतादेखि सुरु भएको वन डढेलोका कारण करिब ४ हजार हेक्टर क्षेत्रफल प्रभावित भएको जिल्लास्थित डिभिजन वन कार्यालयका योजना अधिकृत सुशील सुवेदीले जानकारी दिए । उनका अनुसार शम्शेरगञ्ज माथेमा चक्ला वन, भुवरभवानी चक्ला वन, झिँझरी महिला सामुदायिक वन, राप्ती पीडित गुलरी सामुदायिक वनलगायत १२ वटा सामुदायिक वनमा डढेलो लागेको छ ।

डढेलो निभाउने प्रयास जारी रहेको जनाउँदै उहाँले भित्रभित्र वनमा लागेको डढेलो नियन्त्रणमा आउन नसकेको सुवेदीले उल्लेख गरे । जनशक्ति र स्रोत कम हुँदा समयमा डढेलो नियन्त्रण हुन नसकेको भन्दै उहाँले सोही कारणले क्षति भइरहेको बताउनुभयो । उहाँका अनुसार जिल्लामा वन डढेलो नियन्त्रणमा लागि १४ जनाको डढेलो नियन्त्रण दस्ता निर्माण गरिएको छ । अहिले रहेको २००० लिटर क्षमताको ट्याक्टरले राजमार्ग आसपासका क्षेत्रमा मात्रै वन डढेलो निभाउन सकिएको उनले जानकारी दिए ।

डढेलो नियन्त्रणका लागि वनका भित्री भागसम्म जान सक्ने दमकल आवश्यक भएको उल्लेख गर्दै वन कार्यालयका योजना अधिकृत सुवेदीले बढ्दो खडेरीले भित्री क्षेत्रमा डढेलो झन बढेको बताए ।

जिल्लामा ५० हजार हेक्टर वन क्षेत्र रहेको छ । वन डढेलो नियन्त्रण गर्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिँदै आइएको भन्दै उनले केही गलत व्यक्ति र आचरणका कारण वनमा डढेलो लागेको बताए ।

रासस

Link copied successfully