सुस्ताको झोलुंगे पुलदेखि उत्तरपूर्वतर्फको करिब एक किलोमिटर क्षेत्रमा धमाधम तटबन्धनको काम भइरहेको हो । सुस्तामा वर्षाअगावै तटबन्धनको काम सम्पन्न गर्नका लागि हरेक दिन १० देखि १२ घण्टासम्म निरन्तर काम भइरहेको छ ।
What you should know
नवलपरासी — नारायणी नदीको कटानका कारण बर्सेनि जोखिममा पर्दै आएको सुस्ता जोगाउन यहाँ तटबन्धनको काम धमाधम भइरहेको छ ।
सुस्तामा भइरहेको तटबन्धन निर्माण कार्यको नेतृत्व गर्दै आएका सिंचाइ तथा जलस्रोत व्यवस्थापन कार्यालय भरतपुरका प्रमुख डा नारायण सुवेदीका अनुसार ११ करोड ८४ लाख रुपैयाँ लागतमा गत चैत अन्तिम साता सुरु भएको काम असार दोस्रो साताअगावै सकिनेछ ।
गत माघमा सुस्ता आएका तत्कालीन जलस्रोत मन्त्री कुलमान घिसिङले नदी कटानका लागि तत्काल ११ करोड ८४ लाख रुपैयाँ विनियोजन गराएका थिए । मन्त्री घिसिङ आएका बेलामा सुस्ताबासीले यहाँको कटान र डुबानका बारेमा जानकारी गराएर स्थलगत अवलोकन गराएका हुन् । ‘उहाँले तत्काल मन्त्रालयमा फोन गरेर आपत्कालीन कोषबाट सुस्तामा रकम विनियोजन गर्दिनूस् भनेर आदेश गरेका आधारमा यहाँ अहिले त्यही बजेटबाट काम भइरहेको हो,’ स्थानीय मुन्सी हरिजन भने ।
छोटो अवधिमा जोखिमयुक्त काम सक्नुपर्ने लक्ष्यका साथ रातदिन काम भइरहेको सुवेदीको भनाइ छ । ‘समय छोटो छ तर त्यसैभित्र काम नसकी नहुने अवस्था छ,’ डा सुवेदीले भने, ‘म चितवन सरुवा भएर आएकै दिन पहिलो दिनको हाजिरी सुस्ताको फिल्डमै आएर गरेको हुँ । वर्षातअगावै तटबन्धनको काम नसके सुस्ता बग्ने जोखिम बढ्दो छ ।’
ठेकेदारसँग सम्झौता गरेकै दिन गत चैत दोस्रो साता सुस्तामा स्काभेटर, ठेकेदार र आफ्नो कार्यालयका कर्मचारीसहित आफू फिल्डमा पुगेको सुवेदीले जानकारी दिए । तटबन्धन निर्माण स्थलमा अहिले दैनिक १ सय ७५ जना श्रमिकले धमाधम काम गरिरहेका छन् । नदी नियन्त्रणका लागि दैनिक ५० वटा ट्याक्टर नारायणी नदी किनारको ढुंगा बोक्ने र तारजाली भर्ने काममा प्रयोग भइरहेका छन् ।
सुस्ताको झोलुंगे पुलदेखि उत्तरपूर्वतर्फको करिब एक किलोमिटर क्षेत्रमा धमाधम तटबन्धनको काम भइरहेको छ । काम चाँडो होस् भन्नका लागि सुस्ता नजिकै कार्यालय खोलेर कर्मचारी राखी कामको निगरानी र गुणस्तरमा ध्यान दिने काम भइरहेको सुवेदीको भनाइ छ ।
सुस्तामा वर्षाअगावै तटबन्धनको काम सम्पन्न गर्नका लागि हरेक दिन १० देखि १२ घण्टासम्म निरन्तर काम भइरहेको छ । यहाँ भइरहेको कामको निरन्तर अनुगमन गर्न हरेक दिन फिल्डमा कर्मचारी खटाएका कारण तटबन्धनको कामले गति लिइरहेको सुवेदी बताउँछन् । सुस्तामा भैरहेको तटबन्धन निर्माण कार्यको ऊर्जा, जलस्रोत तथा सिंचाइ सचिव सरिता दवाडीले स्थलगत निरीक्षणसमेत गरेकी छिन् । ‘सुस्तामा भइरहेको तटबन्धन निर्माण कार्य सरकारको कति धेरै प्राथमिकतामा छ भन्ने कुरा मन्त्रालयका सचिवको स्थलगत अनुगमनले पनि प्रस्ट पार्छ,’ आयोजना प्रमुख डा सुवेदीले भने, ‘११ करोड ८४ लाख लागतको काम करिब ९० दिनभित्र सक्नैपर्ने बाध्यता छ । रकम ढिलो विनियोजन भएका कारण यहाँ सरकारी प्रक्रिया पूरा गरेर काम गर्ने समयावधि छोटो भएको हो ।’
४ सय १७ घरधुरी रहेको सुस्तामा करिब ३६ सय स्थानीयको बसोबास छ । हरेक वर्ष नारायणी नदीको बाढीले सुस्ता कटान र डुबानको चपेटामा पर्दै आएको छ । वर्षायाममा नारायणी नदीको बाढीले कटान गर्ने र सुस्ता डुबानमा पर्ने अवस्था नियन्त्रणका लागि यहाँ प्राथमिकताका साथ काम भइरहेको हो ।
२०३४ सालअघिसम्म सिंगो गाविस रहेको सुस्ता कटान र डुबानमा पर्दै गएपछि हाल एउटा वडामा सीमित छ । भारतसँग सिमाना जोडिएको सुस्ताको अधिकांश भूभाग भारतीय अतिक्रमणको चपेटामा पर्दै आएको छ भने नारायणी नदीको कटानले पनि खेतीयोग्य जग्गाको क्षयीकरण भइरहेको छ ।
सुस्तामा भइरहेको तटबन्धन कार्यको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपक नेपाल, जिसस प्रमुख भगौती यादव र सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले दुई दिनअघि स्थलगत निरीक्षण गरेका थिए । जिल्ला प्रशासन र सुस्ता गाउँपालिकाको सहयोग र आयोजना व्यवस्थापन कार्यालयका प्रमुखको तदारुकताका कारण छोटो अवधिमै नारायणी नदीमा तटबन्ध गर्ने जस्तो जोखियुक्त काम फटाफट भइरहेको प्रमुख जिल्ला अधिकारी नेपालले जानकारी दिए ।
‘नेपालमा करिब ९० दिनको समयावधिमा यति धेरै काम हुन सक्छ भन्ने सुस्ताको तटबन्धनको कामले प्रमाणित गरेको छ,’ प्रजिअ नेपालले भने, ‘यो कामका लागि मन्त्रालय र स्थानीय प्रशासनको ठूलो सहयोग रहेको छ ।’
