सेरिखोलामा रहेको परशुरामेश्वर गुठीको २० रोपनी बाँझो जमिनलाई खनेर छत्रदेव गाउँपालिकाले अहिले आलु उत्पादन गरेको हो ।
What you should know
अर्घाखाँची — युवालाई कृषि उत्पादनमार्फत गाउँमै भविष्य छ भनेर देखाउन छत्रदेव गाउँपालिकाले आलु र धान खेती गरेको छ । वडा नं ४ को सेरिखोलामा रहेको परशुरामेश्वर गुठीको २० रोपनी क्षेत्रफलको बाँझो जमिनलाई खनेर अहिले आलु उत्पादन गरेको हो ।
३० क्विन्टल आलु उत्पादन भएको छ । अघिल्लो वर्ष बाँझो जमिन खनेर धान खेती गरेको थियो । गोबरमल र कम्पोस्ट मलबाट उत्पादित आलु खेतबाटै बिक्री भएको छ । पालिकाले आलुलाई ग्रेडिङ गरेर मूल्य निर्धारण गरेको थियो । थोक मूल्य प्रतिकिलो ४८ देखि ४३ रुपैयाँ र फुटकर किन्नेलाई प्रतिकिलो ५३ रुपैयाँ निर्धारण गरिएको छ ।
मध्यम खालको आलुलाई खेतमै फुटकर प्रतिकिलो ४० र थोक ३८ र पालिकामा ४५ र सानो दाना भएको आलुलाई खेतबाट फुटकर प्रतिकिलो ३५, थोक ३३ र पालिका कार्यालयबाट ४० रुपैयाँमा बिक्री भएको छत्रदेव गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वासुदेव खनालले बताए । बीउमल गरी आलु खेती लगाउँदा झन्डै १ लाख रुपैयाँ लगानी भएको थियो ।
‘यसरी पालिकाले खेती गर्नुपर्ने कारण भनेको गाउँमै कृषि उद्यमबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण दिन हो,’ खनालले भने, ‘युवाहरू गाउँमा केही हुँदैन भनेर रोजगारी खोज्दै विदेशतिर धाउने र सुविधा खोज्दै सहरतिर बढ्दो बसाइसराइका कारण खेतीयोग्य जमिन खाली हुँदै गए । केही गरौं भन्ने युवालाई मोटोमै पैसा छ, यहीँ कृषि उद्यम गर भनेर देखाउनलाई यो खेती गरिएको हो ।’ आलु खनेर धान खेती गर्ने तयारी भएको उनले बताए । गत वर्ष ६० मुरी धान उत्पादन भएको थियो ।
‘पालिकाले आलु र धान खेती गर्न थालेपछि खेत नजिकैका केही कृषकले आलु खेती गर्न थालेका छन्,’ खनालले भने, ‘यो खुसीको कुरा हो । यसरी कृषकले आलु लगायत खाद्यवस्तु र तरकारी खेती गर्न थालेपछि आम्दानी हुँदा युवाहरू गाउँमै कृषि उद्यममा लाग्छन् भन्ने पालिकाको सोचाइ हो ।’
पाालिकाले अर्गानिक आलु उत्पादन गरेको अध्यक्ष चन्द्रमान श्रेष्ठले बताए । ‘सिंगो पालिकाका युवा र कृषक सबै खेती उत्पादनमा लाग्नुपर्छ,’ उनले भने, ‘खेती गरेपछि उत्पादन हुँदो रहेछ भन्ने यो उदाहरण हो । सबै कृषकलाई बीउ, मल, जल र कृषि प्राविधिक उपलब्ध गराएका छौं, सबै किसानलाई कृषि उत्पादनमा जोड्ने हाम्रो लक्ष्य हो ।’
