रामग्राम नगरपालिकाले मापदण्ड विपरीतका घर, टहरामा डोजर लगाएको छ ।
परासी — पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रामग्राम नगरपालिकाले मापदण्ड विपरीतका घर, टहरामा डोजर लगाएको छ । मापदण्ड विपरीत बनाइएका संरचना हटाएको हो ।
रामग्राम नगरपालिकाले सडक तथा फुटपाथमा राखिएको निर्माण सामग्री हटाउन र सडक मापदण्ड भित्रका संरचना भत्काउन सूचना जारी गरेको भएपनि समयमा नै नहटाएपछि भत्काइएको हो । केही घरका घाम छेक्न बनाइएका टिनका टहरा र पृथ्वीचन्द्र अस्पतालले भाडामा लगाएका सटर क्षेत्रमा पनि नगरपालिकाले डोजर लगाएको छ ।
डोजर लगाउँदा स्थानीयवासीले भने पर्याप्त सूचना बिना नगरपालिकाले डोजर लगाएको भन्दै आक्रोशित भएका थिए ।
नगर प्रमुख धनपत यादवले कसैलाई पनि दुख दिने नियत नरहेको बताउँदै सबैलाई पटक पटक सूचित गरेर मात्र डोजर चलाइएको बताए । आजदेखि सुरु भएको अवैध संरचना हटाउने काम निरन्तर चल्ने नगरपालिकाले जनाएको छ ।
