गुल्मी उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सवमा कृषि, घरेलु तथा व्यापार मेलासहित विभिन्न सांस्कृतिक कार्यक्रम समावेश छन्।
गुल्मी — गुल्मीको सदरमुकाम तम्घासमा पाँचौं गुल्मी महोत्सव शुक्रबारदेखि सुरु भएको छ । गुल्मी उद्योग वाणिज्य संघको आयोजनामा यहीँ वैसाख २३ गतेसम्म संचालन हुने पाँचौ गुल्मी गुल्मी महोत्सव-२०८३ अन्तर्गत कृषि, घरेलु तथा ब्यापार मेला सुरु भएको हो ।
महोत्सवको रेसुंगा नगरपालिका प्रमुख खिलध्वज पन्थीले उद्घाटन गरेका छन् । गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास : शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित ब्यापारको विकास' भन्ने मुख्य उद्देश्यका साथ महोत्सव सुरु भएको हो ।
महोत्सवमा एक लाख दर्शकले अवलोकन गर्ने र पाँच करोड रुपैयाँ बराबरको आर्थिक कारोबार गर्ने आयोजककाे अपेक्षा रहेको गुल्मी उद्योग वाणिज्य संघका महासचिव चेतनारायण पाण्डेले बताए ।
महोत्सवमा स्थानीय उत्पादन, कृषि उपज तथा घरेलु उद्योगको प्रवर्द्धन र बजारीकरण, आन्तरिक तथा बाहय पर्यटन प्रवर्द्धन, साना तथा मझौला उद्यमीलाई प्रोत्साहन गर्न, स्थानीय कला, संस्कृति, भेषभुषा र परम्पराको संरक्षणबारे विभिन्न स्टल तथा प्रस्तुति रहेको गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष मृगेन्द्रप्रसाद श्रेष्ठले बताए।
महोत्सवमा विभिन्न जिल्लाबाट आउने व्यापारिक तथा औद्योगिक स्टल, स्थानीय कृषि उत्पादन हस्तकला तथा घरेल उद्योगका सामग्री, होटल तथा पर्यटन प्रवर्द्धनसँग सम्बन्धित प्रदर्शनी, स्थानीय खानाका परिकारको विशेष प्रदर्शनी राष्ट्रिय तथा स्थानीय कलाकारको सांगीतिक प्रस्तुति र विभिन्न सांस्कृतिक झाँकी रहेका छन् ।
