सीमा नाकामा पर्यटकलाई सास्ती दिएको भन्दै तीन जना नियन्त्रणमा

सीमामा हुने अवाञ्छित गतिविधि र पर्यटकमाथि हुने तानातान रोक्ने अभियानअन्तर्गत उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका डीएसपी तथा प्रवक्ता कृष्णकुमार चन्दले बताए ।

वैशाख १०, २०८३

माधव ढुंगाना

Three arrested for harassing tourists at border checkpoint

भैरहवा — नेपाल–भारत सीमावर्ती नाका बेलहियामा पर्यटकलाई अनावश्यक दुःख र हैरानी दिने भारतीय नागरिकसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सीमामा हुने अवाञ्छित गतिविधि र पर्यटकमाथि हुने तानातान रोक्ने अभियानअन्तर्गत उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका डीएसपी तथा प्रवक्ता कृष्णकुमार चन्दले बताए । 

पक्राउ पर्नेमा दुई जना नेपाली र एक जना भारतीय नागरिक रहेका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–१ बस्ने २६ वर्षीय निरज हरिजनका साथ भारतीय मूलका ३२ वर्षीय बैजु कलवार र  २७ वर्षीय मुलायम यादव रहेका छन् । 

प्रवक्ता चन्दका अनुसार बेलहिया नाकामा वर्षौंदेखि भारतीय पर्यटक तथा यात्रीलाई सीमा पार गर्ने बित्तिकै घेर्ने र तानातान गर्ने गरेको गुनासो बारम्बार आउने गरेको थियो । 

कमिसनको लोभमा यात्रीलाई उनीहरूको इच्छाविपरीत आफूअनुकूलका बस तथा निजी गाडीमा चढ्न बाध्य पार्ने, कमिसन आउने होटलहरूका जबरजस्ती ग्राहकलाई लैजाने, विदेशी पैसा साटिदिने बहानामा पर्यटकलाई अलमल्याउने र हैरानी दिने, भन्सार सहजीकरण गर्ने लगायतका काम गरिदिने भन्दै यात्रुलाई दुःख दिने गरेको भनाइ प्रहरीको छ ।

माधव ढुंगाना कान्तिपुरका भैरहवा संवाददाता हुन् ।

Link copied successfully