सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु

प्रशासनले जिल्ला हुलाक कार्यालयमार्फत् तोकिएको शुल्क लिएर बिहीबारदेखि सेवाग्राहीको घरमै राहदानी पुर्‍याउने व्यवस्था गरेको हो ।

वैशाख १०, २०८३

गगनशिला खड्का

Passport delivery to service recipients' homes begins

गुल्मी — जिल्ला प्रशासन कार्यालय गुल्मीले सेवाग्राहीको राहदानी घरघरमै पुर्‍याइदिन सुरु गरेको छ । प्रशासनले जिल्ला हुलाक कार्यालयमार्फत् तोकिएको शुल्क लिएर बिहीबारदेखि सेवाग्राहीको घरमै राहदानी पुर्‍याउने व्यवस्था गरेको हो । 

सरकारको शासकीय सुधार कार्यक्रम अन्तर्गत सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने कार्यक्रम अन्तर्गत यो कार्यक्रम सुरु गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताए । मन्त्रिपरिषद्को गत चैत्र १३ गतेको बैठकले १०० बुँदे शासकीय सुधारको कार्यसूचीको बुँदा नं. २७ मा सरकारी सेवा घरमै उपलब्ध गराउने उल्लेख छ।

बिहीबार नै प्रशासन र हुलाक कार्यालयबीच समझदारी गरी रेसुङ्गा नगरपालिका वडा नं. ११, १२ र १४ का १६ जना सेवाग्राहीको घरमै पुर्‍याउने गरी पठाइएको छ । 'राहदानी बाहक सेवाग्राहीलाई हामीले सम्पर्कगरि तोकिएको हुलाक दस्तुर  तिर्न सहमत भएपछि हामीले हुलाक कार्यालयलाई हस्तान्तरण गरेका छौं’, गैरेले भने, 'हुलाक कार्यालयका कर्मचारीहरुले उहााहरुलाई सम्पर्क गरी आजै घरघरमै हस्तान्तरण गर्नुहुने छ।’

मन्त्रिपरिषद्को पहिलो बैठकले कार्यसूची सार्वजनिक गरेपनि अहिलेसम्म स्पष्ट कार्यविधी र मोडालिटी प्राप्त नभएकोले तत्कालका लागि नजिकका सेवाग्राहीलाई सेवा दिने कार्यक्रम शुरु गरिएको प्रजिअ गैरेले बताए । 'स्रोत व्यवस्थपन गर्न केही समय लाग्ने भएकोले रेसुङ्गा नगरपालिकाबाट सुरु गरेर थप स्रोत आएपछि प्रभावकारीता विस्तार हुने छ,' उनले भने।

गगनशिला खड्का कान्तिपुरकी गुल्मी संवाददाता हुन् ।

Link copied successfully