राजनीतिक परिवर्तनसँगै उद्योगी, व्यवसायीमा पनि लगानीको वातावरण हुनुपर्ने र लगानी सुनिश्चितताको वातावरण बनेमा नवलपरासी जिल्ला औद्योगिक र आर्थिकरुपमा विकास हुने व्यवसायीको धारणा थियो ।
परासी — पश्चिम नवलपरासीका उद्योगी व्यवसायीले जिल्लाबाट निर्वाचित प्रतिनिधिसभाका सदस्यसँग उद्योगी व्यवसायीले भोग्नु परेको प्रक्रियागत झन्झट हटाउनु पर्ने माग राखेका छन् ।
उद्योग वाणिज्य संघ नवलपरासीले आयोजना गरेको आर्थिक विकास र औद्योगिक समृद्धिका लागि सरोकारवालाबीच छलफल कार्यक्रममा उद्योगीले यस्तो माग राखेका हुन् । राजनीतिक परिवर्तनसँगै उद्योगी, व्यवसायीमा पनि लगानीको वातावरण हुनुपर्ने र लगानी सुनिश्चितताको वातावरण बनेमा नवलपरासी जिल्ला औद्योगिक र आर्थिकरुपमा विकास हुने व्यवसायीको धारणा थियो ।
कार्यक्रममा प्रतिनिधिसभाका सदस्य विक्रम खनाल, नरेन्द्रकुमार गुप्ता र रिगंला यादवलगायत सरोकारवालाको सहभागिता थियो ।
कार्यक्रममा बोल्दै सांसद खनालले व्यवसायीले भोग्नु परेका समस्यालाई संघीय सदनमा जोडदार रूपमा उठाउने र औद्योगिक विकासका लागि आवश्यक ऐन कानुन परिमार्जन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यसैगरी सांसद गुप्ताले स्थानीय स्रोत र साधनको अधिकतम् प्रयोग गरी निर्यातमुखी उद्योगमा जोड दिनुपर्ने बताए । सांसद रिगला यादवले स्वरोजगार मुखी र विदेशबाट आयात गर्नुपर्ने कच्चा पदार्थभन्दा पनि स्वदेशमा नै उपलब्ध हुने कच्चा पदार्थ प्रयोग हुने उद्योगमा ध्यान दिनुपर्ने बताइन् ।
उद्योग वाणिज्य संघ नवलपरासीका पूर्वअध्यक्ष वीरेन्द्र अग्रहरीले निजी क्षेत्रले भोग्नुपरेका प्रक्रियागत झन्झट र पूर्वाधार अभावका कारण व्यवसायीहरू मारमा परेको गुनासो गरे । राज्यले उद्योगीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने अधिकांश व्यवसायीको भनाइ थियो ।
कार्यक्रममा उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष ओमप्रकाश अग्रहरीले जिल्लाको आर्थिक मेरुदण्डका रूपमा रहेकाले निजी क्षेत्र र सरकार मिलेर अघि बढे मात्रै नवलपरासीलाई देशकै नमुना आर्थिक केन्द्र बनाउन सकिने विश्वास व्यक्त गरे ।
