राप्ती नदीको कटान र डुबानको जोखिममा रहेको कृषि चौफेरी गाउँ आगलागीको चपेटामा परेपछि पीडित परिवारको बिचल्ली भएको छ ।
नेपालगन्ज — बाँकेको डुडुवा गाउँपालिका–१, कृषि चौफेरी गाउँमा बिहीबार आगलागी हुँदा ६ घर जलेर पूर्ण रूपमा नष्ट भएका छन् ।
आगलागीबाट घरमा भण्डारण गरिएको खाद्यान्न, लत्ताकपडा, नगद तथा गरगहनासहित अन्य भौतिक सम्पत्ति खरानी भएको नेपाल रेडक्रस सोसाइटी बाँकेले जनाएको छ ।
राप्ती नदीको कटान र डुबानको जोखिममा रहेको कृषि चौफेरी गाउँ आगलागीको चपेटामा परेपछि पीडित परिवारको बिचल्ली भएको छ ।
स्थानीयका अनुसार बिहीबार दिउँसो स्थानीय हग्गु यादवको घरबाट अचानक सल्किएको आगोले छिमेकीका घरमा समेत डढेलो फैलाएको थियो । आगलागीबाट हग्गु यादवसहित कृपाराम यादव, कुवारे यादव, लल्लु यादव, सञ्जय यादव र अरुण यादवको घर नष्ट भएको छ ।
स्थानीय विपद् व्यवस्थापनका अगुवा राममनोहर यादवले आगलागीलगत्तै नेपालगन्जबाट दमकल बोलाइए पनि घटनास्थल पुग्न ढिलाइ हुँदा क्षति धेरै भएको बताए । उनका अनुसार स्थानीय समुदाय र दमकलको सामूहिक प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो ।
गर्मी र हावाहुरीको मौसम भएकाले यस क्षेत्रमा आगलागीका घटना दोहोरिने गरेका छन् ।
