प्यूठानको थापाडाँडा बताउने दिदीभाइ इशा र सुदीप बोहरा गोरखपुर रेल्वे स्टेसननजिकैको चिया पसलमा आश्रय लिइरहेका छन्
What you should know
भैरहवा — भारतको गोरखपुरस्थित रेल्वे स्टेसन परिसरमा दुईजना नेपाली बालबालिका दुई सातादेखि अलपत्र अवस्थामा छन् । हाल उनीहरू रेल्वे स्टेसनअगाडिको एउटा चिया पसलमा आश्रित रहेका छन् ।
गोरखपुरस्थित भारत–नेपाल मैत्री समाजका अध्यक्ष अनिल कुमार गुप्तले ती बालबालिका अलपत्र अवस्थामा रहेको जानकारी पाएपछि आफू त्यस स्थानमा गई उनीहरूको बारेमा जानकारी लिएको कान्तिपुरसँग बताए । गुप्तका अनुसार उनीहरूले आफ्नो घर नेपालको प्यूठान नगरपालिकास्थित थापाडाँडा बताएका छन् ।
उनीहरू एउटै घरका दिदी–भाइ हुन् । दिदी इशा बोहरा करिब १३ वर्षकी छन् भने भाइ सुदीप करिब ७ वर्षका छन् । उनीहरू घरबाट हिँडेर गन्तव्यविहीन यात्राका क्रममा गोरखपुर पुगेका हुन् । बुवाको मृत्युपछि आमाले अर्को विवाह गरेपछि घर छाडेर हिँडेको उनीहरूले बताएका छन् ।
ती बालबालिकाले घर छाडेर हिँड्नुको यथार्थ कारण भने खुल्न सकेको छैन। पारिवारिक माया नपाएपछि घर छाडेर हिँडेको आशय उनीहरूको भनाइबाट पाइएको गुप्तले जनाए ।
‘उनीहरूको बारेमा यथार्थ विवरण भारतीय प्रशासनिक निकायलाई नभएकाले मैले यसबारे सबै जानकारी गोरखपुरस्थित भारतीय प्रहरीलाई दिँदै छु,’ गुप्तले भने, ‘उनीहरू तत्काल चिया पसलवालाको आश्रयमा रहे पनि विभिन्न खालका जोखिमबाट सुरक्षित छैनन्।’
गुप्तका अनुसार दुई साताअघि रेलवे स्टेसनअगाडि सडकमा भौँतारिँदै गरेको अवस्थामा फेला परेपछि आफूहरूले राखेको चिया पसल सञ्चालकले बताएका छन् । आफ्नो छोरीको उमेरसँग मिल्दोजुल्दो उमेरकी नेपाली बालिका रहेको र ती बालिका विभिन्न जोखिममा पर्न सक्ने भएकाले उनीहरूलाई आश्रय दिएको चिया पसल सञ्चालक महिलाको भनाइ छ ।
आफू उक्त पसलमा जाँदा सुदीप मात्र रहेको र इशाको बारेमा सोधखोज गर्दा चिया पसलकी महिलाले गोरखपुर नजिकैको पीपीगञ्जस्थित आफ्नो नातेदारको घरमा पठाएको जवाफ दिएको गुप्तले सुनाए । ‘एक घण्टासम्म मैले सुदीपलाई फर्केर घर जाने भनेर सम्झाउँदा कुनै हालतमा पनि घर नजाने जवाफ दिए,’ गुप्तले भने, ‘मैले चिया पसलकी महिलालाई अर्को व्यवस्था नभएसम्म उनीहरूलाई अन्यत्र जान नदिई आफ्नो जिम्मामा राख्न भनेको छु।’
गुप्तका अनुसार गोरखपुर रेल्वे स्टेसनको १ नम्बर गेटअगाडि सिँचाइ विभागको कार्यालयसँगै रहेको चिया पसलमा उनीहरू छन् । ‘उनीहरूलाई किन राखेको?’ भनेर चिया पसलवालालाई सोध्दा अलपत्र अवस्थामा रहेका उनीहरू कुनै जोखिममा नपरून् भनेर संरक्षण दिएको उनले बताएका छन् ।
आफूहरूलाई नै ठाउँ साँघुरो भएको र यदि बालबालिकालाई लैजाने हो भने कुनै आपत्ति नहुने कुरा पसलवालाले आफूलाई भनेको गुप्तले जनाए ।
