सरकारलाई १ सय दिनको हनिमुन पिरियडमा आलोचना नगर्ने राजनीतिक अभ्यास भए पनि सरकारको काम प्रतिशोधी भएकाले सुरुवाती चरणमा नै आलोचित हुनुपरेको एमाले नेता प्रदीप ज्ञवालीको जिकिर ।
नवलपुर — नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले सरकार सुरुवाती चरणबाट नै राजनीतिक प्रतिशोधी र प्रचारमुखी भएको आरोप लगाएका छन् ।
प्रेस चौतारी नवलपुरले बुधबार कावासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता ज्ञवालीले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई प्रतिशोधपूर्ण ढंगले पक्राउ गरेको बताए । सरकारलाई १ सय दिनको हनिमुन पिरियडमा आलोचना नगर्ने राजनीतिक अभ्यास भए पनि सरकारको काम प्रतिशोधी भएकाले सुरुवाती चरणमा नै आलोचित हुनुपरेको उनले बताए ।
आफ्नो योजनामा भन्दा पनि शक्तिकेन्द्रको निर्देशनमा वर्तमान सरकारले काम गरेको उनको जिकिर थियो ।चुनावमा एमालेको पराजयको विषयमा पार्टीले गम्भीर भएर समीक्षा गरिरहेको बताउँदै पराजयको कारण पत्ता लगाएर पार्टी सुदृढीकरणमा लागिपर्ने पनि उनले बताए ।
नेतृत्व परिवर्तनसम्बन्धी पत्रकारको प्रश्नमा ज्ञवालीले नेता परिवर्तनमात्र भन्दा पनि समग्र पार्टीलाई नै परिमार्जनसहित अगाडि बढाउनुपर्ने अडान राखे ।
