फोहोर जलाउने क्रममा आगो फैलिएर प्रतापपुरमा १२ वटा घर जले

स्थानीय गोविन्द चमारको कच्ची घरमा लागेको आगोले छिमेकमा रहेका ८ वटा घर जलेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी वीरदत्त पन्तले बताए ।

वैशाख ८, २०८३

नवीन पौडेल

Fire spreads during garbage burning, burning 12 houses in Pratappur

परासी — पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका-५ मा आगलागी हुँदा १२ वटा घर जलेका छन् । 

स्थानीय गोविन्द चमारको कच्ची घरमा लागेको आगोले छिमेकमा रहेका ११ वटा घर जलेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी वीरदत्त पन्तले बताए । स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरीले आगलागी निभाएका थिए । 

आगलागीमा स्थानीय रामसिंह कुर्मी, रामबहादुर कुर्मी, उमेश कुर्मी, नगिना हरिजन, भुटेल हरिजन, सन्तोष हरिजन, काशीलाल चमार, शिवशरण कुर्मी, सदिक मियाँ, किमन कुर्मी र अनुश कुर्मीको घर जलेको हो । 

घर, लत्ता कपडा, अन्न र अन्य सामानमा क्षति पुगेको छ । प्रहरीका अनुसार ५० लाखभन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान छ । तीन वटा बाख्रा जलेर मरेको छ ।  

गोविन्द चमारको घरमा बिहान घर सरसफाइ गरेर फोहोर जलाएका थिए । फोहोर जलाइसकेर उनीहरु काममा लागेको र दिउँसो हावाले आगो उडाउँदा आगलागी भएको बुझिएको छ । आगलागी भएको परिवार आफन्ती र गाउँलेको घरमा बसेका छन् । 

यसैगरी बर्दघाट नगरपालिका-२, आमवासस्थित ऋतुवर्ण सामुदायिक वनमा मंगलबार आगलागी भएको छ । चर्को गर्मी र हावा लागेकाले वन नजिकै रहेको मौरी रेष्टुरेष्ट एण्ड लजमा आगो फैलिँदा सामान्य क्षति पुगेको छ । 

उकालो र भिरालो स्थान भएकाले दमकल जान नसकेपछि स्थानीय र सुरक्षाकर्मीले आगो नियन्त्रणमा लिएका थिए ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully