रुपन्देही, कपिलवस्तु, दाङ, पाल्पालगायत जिल्लाबाट छनौट गरिएका ३५ जना उद्यमीलाई दक्षता बृद्धि कार्यशाला सञ्चालन गरिएको हो ।
What you should know
भैरहवा — लुम्बिनी प्रदेशमा भर्खर उद्यम सुरु गरेका लगानीकर्ताको दक्षता बृद्धिका लागि सोमबारबाट दुई दिने सीप विकास कार्यशाला सुरु गरिएको छ ।
रुपन्देही, कपिलवस्तु, दाङ, पाल्पालगायत जिल्लाबाट छनौट गरिएका ३५ जना उद्यमीलाई दक्षता बृद्धि कार्यशाला सञ्चालन गरिएको हो ।
अमेरिका–नेपाल व्यवसायिक कुटनीतिक छलफल श्रृंखला अन्तर्गत व्यापार, लगानी र अन्वेषणमा सामूहिक रुपमा काम गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको हो । यसअघि नेपालगन्ज, जनकपुर, हेटौंडामा यस्तो कार्यशाला आयोजना भइसकेको छ । भैरहवापछि पोखरामा कार्यक्रम गरिने आयोजकले जानकारी दिए । मुलुकका ७ प्रदेशका गरेर २ सय जना यसमा सहभागी हुनेछन् ।
नेपालस्थित अमेरिकी दूतावासको सहयोगमा आयोजित कार्यक्रमको सुरुवातमा सहभागीले आफूले गरिरहेको उद्यम, त्यसको प्रतिफल र आगामी डेढ वर्षको लक्ष्यबारे बताएका थिए । इन्टरनेशनल डेभलपमेन्ट इन्ष्टिच्युटका कन्ट्री निर्देशक रोशन घिमिरेले एक महिनाअघि नेपालगन्जबाट सीप विकास कार्यक्रम सुरुआत गरिएको बताए। प्रदेशका आर्थिक केन्द्र रुपन्देही, कपिलवस्तु, नेपालगन्ज, दाङका युवालाई प्राथमिकता दिएर कार्यक्रममा सहभागी गराइएको बताए ।
‘काठमाडौं बाहिरका आर्थिक सहरका लगानीकर्ताको व्यवसायिक दक्षता बृद्धि गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो,’ घिमिरेले भने, ‘दुई दिने कार्यशालापछि ६ महिनासम्म सहभागीहरुलाई डिजिटल माध्यामबाट सहजीकरण गरिनेछ ।’
लगानीकर्तासित लामो सहकार्य गरेर व्यवसायिक कुटनीति बलियो बनाइने उनले बताए । सहभागीलाई आशुतोष तिवारी र कमल ज्ञवालीले प्रशिक्षण दिइरहेका छन् । यो कार्यक्रमको उद्देश्य रोजगार बृद्धिसँग पनि जोडिएको छ । ‘तपाईहरु जस्तै नयाँ उद्यम सुरुवात कर्ताले नै भविष्यमा धेरै रोजगार गरेको देखिन्छ,’ घिमिरेले भने, ‘त्यसका लागि कस्तो खालको सहयोग र सुविधा दिन सकिन्छ भन्नेबारे हामी ध्यान दिन्छौं ।’
