भारतमा पेट्रोलियम पदार्थ सस्तो हुँदा नेपाली ढुवानी व्यवसायी प्रभावित

रुपन्देहीका ढुवानी व्यवसायीले सोमबार मध्याह्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै समस्याबारे ध्यानाकर्षण गराएका छन् ।

वैशाख ७, २०८३

दीपेन्द्र बडुवाल

Nepali transporters affected by cheap petroleum products in India

भैरहवा — नेपाल र भारतमा पेट्रोलियम पदार्थको फरक मूल्य कायम हुँदा ढुवानी व्यवसायी मर्कामा परेका छन् । नेपालमा भन्दा भारतमा डिजेललगायत पेट्रोलियम पदार्थ सस्तो मूल्यमा बिक्री भइरहेको छ । यहाँ डिजेलको मूल्य उच्च रहेका बेला भारतीय मालवाहक गाडीले सस्तो इन्धन प्रयोग गरेर नेपालमा सामान ढुवानी गरिरहेका छन् । जसले मुलुकभित्रका ढुवानी व्यवसायी मर्कामा परेका हुन् । 

रुपन्देहीका ढुवानी व्यवसायीले सोमबार मध्याह्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै समस्याबारे ध्यानाकर्षण गराएका छन् । ट्रक व्यवसायी पंकज राईको नेतृत्वमा प्रशासन पुगेका उनीहरूले भारतमा उपलब्ध सस्तो इन्धन प्रयोग गरेर नेपालका कुनाकाप्चासम्म भारतीय मालवाहक गाडीले ढुवानी गरिरहेको गुनासो पोखेका छन् । यसले नेपाली सवारी साधनलाई प्रतिस्पर्धात्मक रूपमा कमजोर बनाएकाले व्यवसाय सञ्चालन गर्न कठिनाइ भएको ज्ञापनपत्रमा उल्लेख गरेका छन् । 

Nepali transporters affected by cheap petroleum products in India

‘भारतीय मालवाहकले मापदण्डविपरीत ओभरलोड बोक्ने गरेका छन्,’व्यवसायी राईले भने, ‘यस प्रकारको गतिविधिले बजारमा अस्वस्थ प्रतिस्पर्धा सिर्जना गर्नुका साथै सडक पूर्वाधारमा समेत असर गरिरहेको छ ।’ रुपन्देहीको बेलहियास्थित भन्सार नाकामा नेपाली तथा भारतीय मालवाहक गाडीको आवागमन तथ्यांक केलाएर आवश्यक कारबाही अगाडि बढाउन व्यवसायीले माग गरेका छन् । प्रतिकूल वातावरणका कारण ट्रक व्यवसायीहरू व्यवसाय सञ्चालन असमर्थ रहेको उनीहरूले उल्लेख गरेका छन् । ‘यस्तै अवस्था रहिरहे भविष्यमा व्यवसायबाट विस्थापित हुनुपर्ने छ,’ज्ञापनपत्रमा भनिएको छ, ‘तसर्थ नेपालमा डिजेलको मूल्य समायोजन गरियोस् ।’

उनीहरूले ज्ञापनपत्रमा भारतीय गाडीको अनियन्त्रित मुलुक प्रवेशमा कडाइ गर्न माग गरेका छन् । ओभरलोडसम्बन्धी विद्यमान कानुनी व्यवस्था कडाइका साथ कार्यन्वयन गर्न माग गरेका छन् । साथै स्वदेशी ढुवानी व्यवसायीको संरक्षण र प्रवर्द्धनका लागि नीतिगत व्यवस्था गर्न माग गरेका छन् । 

दीपेन्द्र

Link copied successfully